दशैं पर्वः मकवानपुरमा परमपरागत पिङ लोप हुँदै

जनपत्र
२७ आश्विन २०७८, बुधबार ०९:३७

हेटौंडा । मकवानपुरका गाउँ गाउँमा पहिले दशैं पर्व सुरु हुनु महिना दिनअघिदेखि नै गाउँघरमा बाबियो, काठ काट्न भ्याइनभ्याई हुन्थ्यो । पिङ तयार पार्न खरबारी, जङ्गलमा बाबियो काट्ने, काठ तयार पार्ने, बोक्नेको चहलपहलले दशैंको रौनकता छाउँथ्यो ।

अहिले मकवानपुरका दश वटै स्थानीय तहमा भने परम्परागत पिङ बनाउने र खेल्नेको उत्साह नहुँदा संस्कृति नै हराउँदै गएको छ । आधुनिक प्रविधिको प्रयोग र सुखसुविधाले पुराना संस्कृति नै हराउँदै जान थालेका छन् । गाउँमा सबै जुटेर पिङ राख्ने चलन रहेको बूढापाका बताउँछन् । हिजोआज परम्परादेखि नै मकवानपुरमा चलनचल्तीमा आएको चर्खे, लिङ्गेजस्ता पिङ लोप हुँदै गएको छ ।

यद्यपि चर्खे पिङको तुलनामा लिङ्गे पिङ भने पूर्णरूपमा विस्थापित भइसकेको छैन । लिङ्गे पिङ पहिलेजसो बाक्लो मात्रामा भने भेटिँदैन । झण्डै दुई दशकअघि गाउँगाउँमा अनिवार्यजसो चर्खे पिङ बनाइने गरे तापनि अहिले पिङको नाम मात्र लिनुपरेको मकवानपुरगढीका श्याम प्रसाद सापकोटा वताउनुहुन्छ ।

‘खरबारी र जङ्गलबाट बाबियो, काठ काटेर ल्याइन्थ्यो, वल्लाघर पल्लाघरका सबै जम्मा भएर डहर, खुला चौरमा पिङ राखिन्थ्यो, पिङ खेल्नेको ठूलै भीड लाग्थ्यो, अहिले त पिङप्रति खासै चासो दिएको पाइँदैन’, उहाँले भन्नुभयो, ‘काठैकाठले बनेको चर्खे पिङ खेल्दै रमाउनेको भीड हुन्थ्यो ।’ चारदेखि आठ जनासम्म बस्न मिल्ने खालको काठैकाठले बनेको यस पिङ खेल्दा निकै आनन्द लाग्ने गरेको उहाँ वताउनुहुन्छ ।

भीमफेदीका सानु थापा आफूले जानेबुझेदेखि नै गाउँका साथीभाइ जम्मा भएर जङ्गलमा काठ काटेर चर्खे पिङ बनाउँदा निकै रमाइलो भएको आफ्नो अनुभव सुनाउँदै अहिले भने गाउँघर कतैपनि देख्न पनि नपाएकामा गुनासो गर्नुहुन्छ । चर्खे पिङ खर्चिलो र निर्माणका लागि धेरै जनशक्ति आवश्यक पर्ने हुँदा पनि अहिले यहाँबाट हट्दै गएको हो । एक पटकमा धेरै जनासम्म खेल्न सकिने हुँदा पिङ खेलेर मनोरञ्जन लिइन्थ्यो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*