सडकले छिचोलिदै भिमफेदीको महाँभिर, हेटौंडा घुमेर गाउँपालिका जानुपर्ने बाध्यता हट्दै

हेटौंडा । मकवानपुरको भिमफेदी गाउँपालिका वडानम्बर ८ महाँभिरमा मोटर बाटो निर्माण गर्ने काम सुरु गरिएको छ । भिमफेदी गाउँपालिकाको कोगटे, महाँभिर, धार्के हुँदै फाष्ट्रयाक निस्कने सडक निर्माण गर्न लागिएको हो । चालु आर्थिक बर्षमा ४० लाख रुपैयाँ लगानीमा सडक निर्माण गर्न सुरु गरिएको भिमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाले बताउनुभयो ।
गाउँपालिकाबाट महाँभिर पुग्नका लागि १४ किलो मिटर सडक निर्माण गर्नुपर्ने हुन्छ । चालु आर्थिक बर्षमा सडकको ट्रयाक निर्माण गरेर आउँदो आर्थिक बर्षबाट निरन्तर लगानी गरेर हिउँद र बर्षायाममानै सडकमा गाडी गुढ्नेगरी निर्माण गरिने उहाँले बताउनुभयो । गाउँपालिकाको सबै भन्दा दुर्गम गाउँका रुपमा परिचित महाँभिरका वासिन्दालाई कुनै काम लिएर गाउँपालिका आउनुपर्दा चार घण्टा पैदल हिड्नुपर्छ । त्यही समस्याको समाधान गर्नका लागि सडक निर्माण गर्न सुरु गरिएको अध्यक्ष लामा बताउनुहुन्छ । सडक निर्माण सुरु भएपछी स्थानीय वासिन्दाहरु निकै खुरी भएका छन् ।
साबिक इपा गाबिसको पाँच वटा वडालाई जोड्ने गरी सडक निर्माण गर्न लागिएको हो । अझ साबिकको इपा गाबिस वडानम्बर १ गंगटेका वासिन्दाको पीडा सुनिसाध्यको छैन । यहाँका वासिन्दाहरु आफ्नो गाउँपालिकामा आउन कान्तिलोकपथ भएर पहिले हेटौंडा आउनुपर्छ अनी मात्र भिमफेदी गाउँपालिकामा जानुपर्ने हुन्छ । सडक निर्माण भएपछी दुइघण्टामै गाउँपालिका सम्म आइपुग्ने अध्यक्ष लामा बताउनुहुन्छ । गाउँपालिका जाने सडक निर्माण नभएकै कारण यहाँका गाउँमा बिजुलीका तार तानियो तर, ट्रासमिटर बोकेर लैजान सकिएको छैन । सडक पुगेपछी गाडीमा राखेर ट्रासमिटर पु¥याउने योजना स्थानीय वासिन्दाहरुको छ । सडक निर्माण भएपछी यस क्षेत्रका सयौ परिवार लाभान्वीत हुने छन् ।