लद्दाख सीमा विवाद : भारतले भन्यो– चीन तयार छैन, चीनले भन्यो– भारतकाे माग अनुचित छ
काठमाण्डाै – भारत र चीनबीच पूर्वी लद्दाखमा एलएसी अर्थात् वास्तविक नियन्त्रण रेखामा रहेको सीमा विवाद समाधान गर्न हिजाे आइतवार भएको भएको १३ औँ चरणको वरिष्ठ सैन्य कमान्डरको स्तरको वार्ता पनि निष्कर्षविहीन भएको छ ।
चीन एलएसीमा यथास्थिति बहाल गर्न तयार नभएको भारतले बताएको छ । अहिले पूर्वी लद्दाखमा एलएसीमा दुई देशबीच हट स्प्रिङ्स, डेपसाङ्ग बल्ज र चार्डिङ्ग नुल्लाह जन्क्शनलाई लिएर विवाद छ ।
यो वार्तापछि दुई देशका सेनाको तर्फबाट विज्ञप्ति जारी गरिएको छ । भारतले स्थितिको गलत आकलन गर्नुको साटो वार्तालाई लक्ष्यसम्म पुर्याउनुपर्ने बताएको छ । भारतीय सेनाले भने चीनसँच रचनात्मक सल्लाह राखिएको तर ऊ मान्नका लागि तयार नभएको बताएको छ ।
भारतीय सेनाको तर्फबाट जारी विज्ञप्तिमा भनिएको छ– चिनियाँ पक्षसँग भारतले विवाद समाधानका लागि रचनात्मक सल्लाह दियो तर चीन सहमत भएन । चीनले भने भारतले पूरै मामिलामा अनुचित र अवास्तविक माग राखेको विज्ञप्तिमा जनाएको छ ।
भारतका सेना प्रमुख जनरल मनोज मुकुन्द रनवणेले गएको हप्ता चीनले एलएसी नजिक ठूला पूर्वाधारहरू बनाइरहेको र त्यहाँका सेना दोस्रो हिउँदमा पनि पछि नहट्ने सोचिरहेको आफूलाई लागिरहेको बताउनुभएको थियो । जनरल नरवणेले यदि चीन पछि नहटे भारत पनि पछि नहट्ने बताउनुभएको थियो ।
चीनको तर्फबाट जारी गरिएको विज्ञप्तिमा भारतले अनुचित र अवास्तविक माग उठाइरहेको र अवस्था झन् कठिन बनिरहेको देखिएको उल्लेख छ । चीनले भारतलाई कुनै पनि परिस्थितिको गलत आकलन नगर्न भनेको छ ।
चीनको पिपुल्स लिबरेशन आर्मी (पीएलए) वेस्टर्न थिएटर कमान्डका प्रवक्ता सिनियर कर्णेल लङ्ग शाहोआका अनुसार दुई देशबीचको यो वार्ता मोल्दो–चुशूल मिटिङ प्वाइन्टमा चिनियाँ क्षेत्रमा भएको हो ।