सडकमा खाल्डाखुल्डी : यात्रुलाई एकै ठाउँमा घण्टौँ जाममा बस्नुपर्ने बाध्यता

जनपत्र
२५ आश्विन २०७८, सोमबार १३:१८

काठमाण्डाै – मुख्य राजमार्गमा नै ठूलाठूला खाल्डाखुल्डी हुँदा दशैँमा घर फर्कने यात्रु समस्यामा परेका छन् । खाल्डाखुल्डीका कारण  राम्रोसँग गाडी आवतजावत हुन नसक्दा एकै ठाउँमा घण्टौँ जाम हुने गरेको छ । जसका कारण यात्रुले सास्ती भोग्नु परेको हो ।

पृथ्वी राजमार्ग, नारायणघाट बुटवल सडक खण्ड, अरनिको राजमार्ग, पासाङ ल्हामु राजमार्ग, र पूर्व पश्चिम राजमार्गका ठाउँठाउँमा खाल्डाखुल्डी भएकाले यात्रुले सास्ती भोग्नुपरेको हो ।

बर्खाको समयमा पहिरोले सडक कटान गर्दा तथा ढुङ्गामाटो सडकमा थुप्रिँदा सडक एकतर्फी सञ्चालन हुने गरेका छन् । जसका कारण लामो दूरीका यात्रुले बढी समस्या भोग्नु परेको छ । वर्षातका कारण  समयमै सडक मर्मत गर्न नसकिएको सडक विभागले जनाएको छ ।

लगातार पानी परिरहेकाले सडकका खाल्डाखुल्डी मर्मत गर्न कठिन भएको विभागका प्रवक्ता शिवप्रसाद नेपालले जानकारी दिनुभयो । लामो दूरी भन्दा अझ धेरै समस्या ग्रामीण सडक भएर यात्रा गर्दा समस्या हुने गरेको छ ।

दुई घण्टा लाग्ने ग्रामीण सडकको यात्रा गर्न ५, ६ घण्टासम्म लाग्ने गरेको यात्रुले गुनासो गरेका छन् । हरेक वर्ष घटस्थापनापछि काठमाण्डौ उपत्यका बाहिरिनेको सङ्ख्या बढ्छ । सडकको अवस्थाका कारण बर्सेनि यात्रुले सास्ती पाउने गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*