अग्रिम टिकट बुकिङ ३५ हजार
काठमाण्डाै – दशैँमा घर जाने यात्रुका लागि यातायात व्यवसायीले अनलाइन टिकट बुकिङ गर्ने व्यवस्था गरेका थिए । बस सेवा, बस सेवा नेपाल, वेस्ट नेपाल बस, स्मार्ट यात्रु, बस नेपाल लगायतका वेबसाइट तथा मोबाइल एपमा गएर आफ्नो गन्तव्य छानेर सहजै टिकट लिन सकिने भनिएको थियो ।
कतिपय यात्रुले यसैगरी अनलाइनबाट टिकट पनि लिए । तर धेरै यात्रु भने अनलाइन टिकटको बारेमा थाहा नभएको र आफूले जान खोजेको ठाउँमा अनलाइनबाट टिकट लिन नसकिएको बताउँछन् ।
सप्तरी घर जानको लागि नयाँबसपार्कमा भेटिएका बेचु यादवले आफूलाई अनलाइन टिकटको बारेमा थाहा नभएको बताउनुभयो ।
ल्होत्से बहुउद्देश्यीय प्रालिका महाप्रबन्धक सुनिल कुँवरका अनुसार पोखरा, भैरहवा, नेपालगञ्ज, सुर्खेत, काँकडभिट्टा लगायत ठाउँका लागि अनलाइन बुकिङ गर्ने गरिएको छ ।
‘अनलाइनका लागि कम्पनीहरु आफैँले व्यवस्था गरेका छन्,’ उहाँले भन्नुभयो, ‘ई–सेवामार्फत पनि अनलाइन बुकिङ गर्न सकिन्छ ।’
तर, अनलाइनबाट बुकिङ गर्न कम्पनीहरु आफैँले व्यवस्था गरेको भनिए पनि गुल्मी जान लागेका माधव बेल्वासेले अनलाइन बुकिङको बारेमा सुने पनि कहाँबाट कसरी गर्ने थाहा नपाउँदा आफूले अग्रिम टिकट काटेको बताउनुहुन्छ ।
अनलाइनमार्फत बुकिङ गर्दा दुईसय महँगो पर्न गएको नेपालगञ्ज जान लागेका रितेष लामाको गुनासो छ । बढी भाडा लिएर उजुरी गर्न प्रहरीले भनेको छ । तर लामाले उजुरी गर्नुभएन ।
‘भने पनि केही हुने होइन, घर जान मात्र ढिला हुन्छ,’ उहाँले भन्नुभयो ।
तर, कुँवर भने नेपाल सरकारले तोकेको भाडादर भन्दा बढी नलिइएको दाबी गर्नुहुन्छ ।
नयाँ बसपार्कबाट अहिले ७० भन्दा बढी जिल्लामा गाडी जान्छ । सम्भव भएसम्म सबै जिल्लामा अनलाइन टिकट काट्ने व्यवस्था मिलाइएको व्यवसायीको दाबी छ ।
अहिलेसम्म ३५ हजारले अग्रिम टिकट बुकिङ गरेका छन् । बसपार्कबाट दैनिक डेढ/दुईसय गाडी बाहिरिने गरेको छ । सामान्यतया दशैँ मनाउन करिब ८ लाख मानिस बहिरिने अनुमान गरिन्छ । तर, यस पटक भने कोभिडका कारण यसमा कमी आउने देखिन्छ ।
कोभिडका कारण अहिले पनि यात्रा जोखिमपूर्ण नै छ । बसपार्कमा गाडी धुने तथा स्यानिटाइज गर्ने गरिएको छ । मास्क लगायत टिकट काट्नका लागि भौतिक दूरी कायम गर्न घेरा पनि बनाइएको छ ।
कोही यात्रुलाई कुनै समस्या आइपरेमा यात्रु सहायता कक्ष तथा व्यवस्थापन समक्ष गुनासो गर्न ल्होत्से बहुउद्देश्यीय प्रालिका महाप्रबन्धक सुनिल कुँवरले आग्रह गर्नुभयो ।