सुनसरी : थुनुवाको ज्यान गएपछि झडप, प्रहरीसहित १० जनाभन्दा धेरै घाइते
सुनसरी – प्रहरी हिरासतमा रहेका थुनुवाको ज्यान गएको विषयलाई लिएर जिल्ला प्रहरी कार्यालय सुनसरी परिसरमा झडप भएको छ ।
पीडितका आफन्त र प्रहरीबीच झडप भएको हो । प्रहरीले आधा दर्जनभन्दा बढी अश्रुग्यास समेत प्रहार गरेको छ । झडपमा प्रहरीसहित १० जनाभन्दा धेरै घाइते भएका छन् । प्रदर्शनकारीले पूर्व-पश्चिम राजमार्ग बन्द गरेका छन् ।
अभद्र व्यवहार मुद्दामा पक्राउ परेका भोक्राहा-५ का मोहम्मद हकिम साह अनुसन्धानको क्रममा थुनामा थिए । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख सञ्जय सिंह थापाले घटना अनुसन्धानको क्रममा रहेकाले छानबिन हुने बताउनुभएको छ ।
झडपका क्रममा प्रहरी कार्यालय र परिसरका संरचनामा क्षति समेत पुगेको छ । इनरुवा बजार क्षेत्रमा ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ ।