दशैँमा रातो माटो र कमेरोले घर रङ्गाउने चलन हराउँदै

जनपत्र
२३ आश्विन २०७८, शनिबार १६:४२

लमजुङ – लमजुङको सुन्दरबजार नगरपालिका–६ की सन्तुमाया बुढाप्रिथी विगतमा हरेक वर्ष दशैँ सुरु हुनु अगावै ढुंगा, माटो, काठको प्रयोग गरी बनाइएको आफ्नो घर लिपपोत गर्नका लागि आवश्यक रातो माटो लिन उहाँ दिदिबहिनीहरुसँग मिलेर हाँडेटारसम्म पुग्नुहुन्थ्यो । टाढाबाट ल्याएको रातो माटो, कमेरो र कालीमाटीले घर लिपपोत गर्न जुट्नुहुन्थ्यो ।

माटो, कमेरोले घर सिँगारेपछि बल्ल उहाँलाई दशैँ आएको मिठो आभास हुन्थ्यो । तर अहिले उहाँले घर लिपपोत गर्न छाड्नुभएको छ । अहिले गाउँमै सिमेन्ट लगायतका निर्माण सामग्री प्रयोग गरी नयाँ घर बनाएसँगै उहाँले दशैँमा पुराना घर रातो माटो, कमेरोले रङ्गाउन छाड्नुभएको हो ।

‘अहिले त गाउँ/गाउँका घरमा प्लाष्टर गरिएको छ । बजारमा थरीथरीका रङ्ग पाइन थालेका छन् । त्यसैले घर रङ्गाइन्छ,’ उहाँले भन्नुभयो, ‘विगतमा जस्तो रातो माटो, कमेरो र कालीमाटीले घर रङ्गाउने चलन अहिले हराउँदै गएको छ ।’

उहाँका अनुसार विगतमा दशैँ/तिहार नजिकिँदै गर्दा ग्रामीण क्षेत्रका बासिन्दालाई  रातो माटो, कमेरो र कालीमाटीले घर सिँगार्ने चटारो हुन्थ्यो । टाढा–टाढा पुगेर रातो माटो, कमेरोले ल्याएर घर रङ्गाउँथे । घर चिटिक्क पारेपछि बल्ल दशैँ आएको आभास हुन्थ्यो । तर पछिल्लो समय गाउँ बस्तीमा यसरी घर रङ्गाउने, सिँगार्ने प्रचलन हराउँदै गएको उहाँ बताउनुहुन्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*