गठबन्धन आगामी निर्वाचनसम्म– स्वास्थ्यमन्त्री बिरोध खतिवडा
स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले अहिलेको सत्तापक्षको गठबन्धन आवश्यकतानुसार आगामी निर्वाचनसम्म हुने बताएका छन् । केपी ओलीको असंवैधानिक कदमपछि गठबन्धन बनेको भन्दै उनले यसलाई चुनावसम्मै लैजाने बताएका हुन् । नेकपा एस कास्कीद्वारा शनिबार पोखरामा आयोजित दसैं, तिहार, छठ र नेपाल संवतको शुभकामना आदानप्रदान कार्यक्रममा मन्त्री खतिवडाले केपी ओलीको दासता स्वीकार्न नसकेपछि विद्रोह गरेर नेकपा एसको जन्म भएको बताए ।
व्यक्ति स्विकार्नेकी पार्टी, नीति मान्नेकी नेता, सामूहिक नेतृत्व मान्नेकी व्यक्ति भन्ने विषयका कारण नेकपा एस जन्मिएको उनको भनाइ थियो । पार्टी कुनै एक व्यक्तिको सम्पत्ति नहुने भन्दै उनले नीति र विधिविधान अनुसार चल्नुपर्नेमा जोड दिए । उनले उखान टुक्का, अकबल र वीरवलका कथा तथा तोतामैनाका कहानीले पार्टी वा देश नचल्ने भन्दै अहिले एमालेमा राजनीतिक र सैद्धान्तिक विचलन आइसकेको दाबी गरे । एमालेको पहिलो विधान महाधिवेशनमा नेकपा एमाले जिन्दावाद कतै नसुनिएको तर ‘केपी बा जिन्दावाद’ मात्रै सुनिनु नीति र विचारबाट च्युत भएको संकेत रुहेको उनले जनाए । ‘व्यक्तिको जयजयकार गरेर एक व्यक्तिलाई अघि सारेर पार्टीलाई पतनको दिशातर्फ लगेकाले आफूहरुले विद्रोह गर्नुपरेको हो,’ उनले भने ।
अहिले संसद् अवरुद्ध गर्दै एमालेले ‘संवैधानिक सर्वोच्चता कायम गर’ भन्ने नारा लगाउनु हास्यास्पद रहेको उनले बताए । सभामुखलाई कुनै पनि सांसद निकाल्ने अधिकार १५ दिनसम्म अवधि रहेको उनले बताए । ‘संसद्मा ६०र७० जनाले नारा लगाउँदैमा कसैलाई निकाल्न पाइने भए हामी पनि बहुमत सत्तापक्षका सांसदले केपी ओलीहरुलाई निकाल भनेर नारा लगाउछौँ,’ उनले भने ।
दुई तिहाइबाट बहुमत, बहुमतबाट अल्पमतमा पुगेर सरकार गुमाएपछि बालुवाटारबाट बालकोट र बार्दलीमा बरबराउनुको अर्थ नभएको उनको भनाइ थियो । राजनीतिक मुद्दा र विषय सकिएपछि अहिले ओलीले सहानुभूति लिन खोजेको आरोप उनले लगाए । मतपत्र च्यात्ने जनयुद्धको नाममा व्यक्ति हत्या गर्ने पार्टी भए किन माओवादी पार्टीसँग एकीकरण गरेको भन्दै उनले पुष्पकमल दाहाललाई ओलीले धोका दिएको बताए । केपी ओलीको कदमलाई असंवैधानिक भनेर विरोध गर्ने एमालेका केही नेताले पछिल्लोपटक आफूहरूलाई धोका दिएको भन्दै अहिले एमालेमै रहेर पनि रुनु न हाँस्नुको अवस्थामा रहेको उनले बताए ।
संसद् विघटन असंवैधानिक हो भन्न नसक्ने, सर्वोच्चको फैसला नस्विकार्ने अनि केपी ओलीले आफूलाई प्रममा मत दिनेजति सबै एमालेका शत्रू भनिसकेपछि पनि कसरी उक्त पार्टीमा बस्न सकेको होलान् भन्दै एमालेका १० नेतामाथि उनले कटाक्ष गरे । सरकार परमादेशबाट नभई संविधानबमोजिम बनेको उनको दाबी थियो ।