हेटौंडाका टोल टोलमा फुटबल
हेटौंडा । नेपालीहरुको महानपर्ब दशै नजिकिएसंगै हेटौंडाका टोल टोलमा फुटबल प्रतियोगिताहरु भइरहेका छन् । हेटौंडाका एक दर्जन भन्दा धेरै वडामा दशैको अवसरमा फुटबल प्रतियोगिताहरु भइरहेका हुन् । यस्ता प्रतियोगिताहरुले खेल क्षेत्रको बिकास हुने हेटौंडा उपमहानगरपालिकाका मेयर हरि बहादुर महतले वताउनुभयो ।
टोल र वडा स्तरमा गरिएका फुटबल प्रतियोगिताका कारण स्थानीय तह स्तरीय र जिल्ला स्तरका खेलाडी उत्पादनमा ठुलो सहयोग पुग्ने मेयर महतले वताउनुभयो । हेटौंडामा दिनहुँजसो फुटबल प्रतियोगिताहरु भइरहेका छन् । हेटौंडा–४, ५, १०, १५, १४ लगायतका वडामा फुटबल प्रतियोगिताहरु भइरहका छन् ।
धेरैजसो फुटबल खेलका लागि हेटौंडा उपमहानगरपालिकाले वडा कार्यालय मार्फत सहयोग गर्दै आएको छ । वडा स्तरमा गरिने प्रतियोगितामा उपमहानगरपालिकाले हरेक क्षेत्रबाट सहयोग गर्दै आएको मेयर महतले वताउनुभयो । हरेक वर्ष दशै र तिहारको आसपासको समयमा फुटबल प्रतियोगिता हुने गरेको छ । प्रतियोगिताका कारण स्थानीय युवाहरु खुसी समेत भएका छन् ।