पिक समयमा नचलाउने शर्तमा उद्योगलाई थप विद्युत्

जनपत्र
२२ आश्विन २०७८, शुक्रबार १२:५३

काठमाडौं, । नेपाल विद्युत प्राधिकरणले विद्युत बढी माग हुने साँझ र बिहान (पिक समय)मा उद्योग नचलाउने शर्त राखी औद्योगिक ग्राहकलाई तत्काल विद्युत उपलब्ध गराउने भएको छ ।

मुलुकभित्र उत्पादित विद्युत वर्खाको समयमा खेर जाने अवस्था आएपछि प्राधिकरणले विद्युत् खपत बढाउने अल्पकालीन योजना अन्तर्गत पिक समयमा प्रसारण तथा वितरण लाइन ओभरलोड भएमा नचलाउने सर्त राखी उद्योगहरुलाई विद्युत उपलब्ध गराउन लागेको हो । प्राधिकरणले थप विद्युत आवश्यक पर्ने उद्योगहरुलाई परिमाण खुलाएर तत्काल आवेदन दिन समेत आग्रह गरेको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सुनसरी-मोरङ औद्योगिक करिडोरका उद्योगीहरुसँग बिहीबार छलफल गरी थप लोड आवश्यक परेमा तत्काल आवेदन दिन र १३२ केभी प्रसारण लाइनबाट पनि विद्युत आपूर्ति लिन आग्रह गरे । उद्योगहरुले अहिले ११ र ३३ केभीबाट विद्युत आपूर्ति लिइरहेका छन् । ११ र ३३ केभीको तुलनामा १३२ केभीबाट आपूर्ति गरिने विद्युतको महसुल सस्तो छ ।

‘एकातर्फ प्रसारण तथा वितरण प्रणाली संरचनाले नधान्दा मागेजति विद्युत दिन सकिरहेका छैनौं भने अर्कोतर्फ मुलुकभित्र उत्पादित विद्युत खेर फाल्नु पर्ने अवस्था छ, लाइन टि्रपिङ हुने, कम भोल्टेजलगायतको समस्या छ’ घिसिङले भने, ‘यस्तो अवस्था अन्त्यका लागि एउटा/दुईवटा टान्सर्फमर, पोल, कन्डक्टरजस्ता उपकरण थपेर मात्रै नहुने देखिएको छ, यसका लागि मुख्य रुपमा औद्योगिक करिडोर क्षेत्रको विद्युत प्रसारण तथा वितरण प्रणालीको सञ्जाल सुधारका लागि बृहत् सुदृढीकरणको काम अगाडि बढाउँदैछौं ।’

उनले उत्पादनतर्फ भन्दा पनि प्रसारण तथा वितरण प्रणालीको सुदृढीकरण गरी विद्युत खपत बढाउन पूर्वाधारमा लगानी बढाइने बताए । ‘हाम्रो दैनिक माग २ हजार मेगावाटको हाराहारीमा पुगेको छ तर पूर्व-पश्चिम विद्युत आपूर्तिका लागि १३२ केभीको मात्रै प्रसारण संरचना छ’,उनले भने,’प्रसारण सञ्जाल विस्तारका लागि ४ सय र २ सय केभीका लाइन निर्माणाधीन छन् तर स्थानीयको अवरोध, अदालतको अन्तरिम आदेश, वन क्षेत्रको जग्गा प्रक्रिया र रुख कटानीको स्वीकृति भएमा भएको ढिलाइ, ठेकेदारको कामजोर कार्यसम्पादन कारण आयोजनाको निर्माण सम्पन्न हुन सकिरहेको छैन, छिट्टो सम्पन्न गर्न सबै निकायसँग समन्वय र सहकार्य गरिरहेका छौं ।’

औद्योगिक करिडोरले बेहोरिएको टि्रपिङ, लो भोल्टेजलगायतका समस्या समाधानका गर्न स्रोत र साधन अभाव नहुने गरी काम अगाडि बढाइएको उल्लेख गर्दै घिसिङले यस्ता समस्या न्यूनिकरण गर्दै भरपर्दो र गुणस्तरीय विद्युत आपूर्तिको प्रतिबद्धता जनाए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*