झण्डै तीन महिनापछि मन्त्रिपरिषदले पूर्णता पाउँदै
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आज मन्त्रिपरिषद विस्तार गर्दैछन् । सत्ता गठबन्धनका दलहरुबाट मन्त्री बन्नेहरुको नाम प्राप्त हुनासाथ मन्त्रिपरिषद विस्तार गर्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
आफ्नो भागमा परेका मन्त्रालय सम्हाल्नेहरुको नाम टुंगो लगाउन नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी ९जसपा० बिहानैदेखि आन्तरिक छलफलमा व्यस्त छन् । नेकपा माओवादी केन्द्रले भने बुधबारै मन्त्री बन्नेहरुको नाम टुंगो लगाएको थियो । बिहीबार सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठकले मन्त्रालय बाँडफाँटमा सहमति जुटाएको थियो । सहमतिअनुसार सरकारको नेतृत्वकर्ता दल नेपाली कांग्रेसले रक्षा, सञ्चार तथा सूचना प्रविधि, उद्योग वाणिज्य तथा आपूर्ति, युवा तथा खेलकुद, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय लिने छ । कांग्रेसले यसअघि नै गृह, कानुन र परराष्ट्रय मन्त्रालय लिइसकेको छ ।
यसैगरी ऊर्जा र अर्थ मन्त्रालय लिइसकेको नेकपा माओवादी केन्द्रले अब भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण, शिक्षा विज्ञान तथा प्रविधि र खानेपानी मन्त्रालय पाउने छ । माओवादीले सरकारमा देवेन्द्र पौडेल, शशी श्रेष्ठ र महेश्वर गहतराजलाई मन्त्री र बोधमाया यादवलाई राज्यमन्त्री बनाउने निर्णय बुधबार नै गरिसकेको छ । यद्यपि कसले कुन मन्त्रालय पाउने भन्ने टुंगो लागिसकेको छैन । हाल माओवादीका जनार्दन शर्मा अर्थमन्त्री र पम्फा भुसाल ऊर्जामन्त्री छन् ।