इच्छाराजविरुद्ध १९० जनाले सीआईबीमा दिए उजुरी, बिगो ८४ करोड पुग्यो
सिभिल ग्रुप तथा सिभिल बैंकका तत्कालीन अध्यक्ष इच्छाराज तामाङसहितका व्यक्ति विरुद्ध जाहेरी दिने पीडितको संख्या १९० पुगेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीका प्रवक्ता एसपी श्यामकुमार महतोका अनुसार पीडितको संख्या अझै बढ्ने क्रममा छ।
‘१९० जनाको जाहेरी दर्ता भइसकेको छ। अरु पनि जाहेरी ल्याउने तयारीमा हुनुहुन्छ। केही साथीहरु आएर फर्किनु भएको छ। केहीले टेलिफोन गर्नु भएको छ। संख्या थपिने क्रममा छ,’ महतोले नेपालखबरसँग भने।
१९० पीडितको जाहेरीमा ८३ करोड ७९ लाख रुपैयाँ बिगो दाबी गरिएको छ। पीडितले ४० जनाविरुद्ध जाहेरी दिएका छन्। तर, सीआईबीले भने तत्कालीन अध्यक्ष इच्छाराज तामाङ र सिभिल सेभिङ्ग एन्ड क्रेडिट सहकारी संस्थाका अध्यक्ष केशवलाल श्रेष्ठसहित १२ जना पक्राउ परेका छन्। उनीहरुविरुद्ध अदालतबाट म्याद लिएर अनुसन्धान सुरु गरिएको प्रवक्ता महतोले बताए।
सिभिल सहकारी २०५७ सालमा स्थापना भएको हो। स्थापना कालदेखि नै इच्छाराज सहकारीको अध्यक्ष र ऋण उपसमितिको सदस्य पनि आफैँ थिए। ठिक १० वर्ष सहकारीको अध्यक्ष भएपछि तामाङ सहकारीबाट कागजी रुपमा बाहिरिए। त्यसपछि केशवलाल श्रेष्ठ अध्यक्ष र ऋण उपसमितिको सदस्य भए। अहिले पनि उनै श्रेष्ठ अध्यक्ष छन्। उनी इच्छाराजका नातेदार हुन्।
उनीहरुले नेतृत्व गरेको सहकारीमा धेरै निक्षेपकर्ताले निर्धक्क रकम जम्मा गरिरहेका थिए। कसैले मासिक, कसैले त्रैमासिक र वार्षिक रकम जम्मा गर्थे। तर, पछि उनीहरुले आफ्नै खाताबाट रकम निकाल्न सकेनन्। चेकमा भएको भन्दा कम मात्रै रकम दिन थालियो। सुरुमा आकर्षक ब्याज देखाएर ग्राहक बनाएको सहकारीले ब्याज पनि दिन छाड्यो।
सहकारी संस्थाको अचल सम्पत्ति पनि नामसारी गरेर सिभिल ग्रुपका निजी कम्पनीहरुमा लगिएको पाइएको छ। सहकारीकै पूर्वसञ्चालकहरुले सहकारी जोखिममा परेको र २०० भन्दा बढी बचतकर्ताको रकम डुब्ने अवस्थामा पुगेको जानकारी गराए।२०७५ सालमा उनीहरुले सहकारी जोखिममा परेको भन्दै ध्यानाकर्षण पत्र लेखे। त्यसपछि मात्रै बचतकर्ताले आफ्नो रकमबारे चिन्ता देखाउन थाले।
बचतकर्ताले २०७८ भदौ २३ गते सहकारीमा गएर ऋणको विवरण हेर्दा उनीहरुले पहिल्यैबाट सहकारीको रकम अन्तै लगानी गरेको थाहा पाए। २०६६ सालमा हाउजिङ डेभलपमेन्टका लागि करिब २०० रोपनी जग्गा धितो राखेर सहकारीले एक अर्ब रुपैयाँ सिभिल होम्स प्रालिलाई ५ वर्षको लागि कर्जा दिएको रहेछ।
त्यो रकमको सावाँ र ब्याज चुत्ता नभए पनि तीन पटक ऋण थपेको खुलेको छ। यसरी सिभिल होम्सलाई ८ अर्बभन्दा बढी रकम दिएको पाइएको पीडितको जाहेरीमा उल्लेख छ।
धितो राखेको जग्गामा घर बनाएर बिक्री गरिसकेको खुलेको छ। २०५८ सालदेखि सिभिल होम्स, सिभिल अपार्टमेन्ट र सिभिल स्टेसनका लागि इच्छाराजले ८ अर्ब रुपैयाँ भन्दा बढी रकम निकालेको पाइएको छ। बचतकर्ताले आफ्नो रकम फिर्ता माग्दा उनले भरेभोलि भन्दै टारेको पीडितको गुनासो छ। नेपालखबरबाट