सीता भण्डारी मृत्यु प्रकरण : तीन जना पुर्पक्षका लागि थुनामा
रुपन्देहीको तिलोत्तमा नगरपालिका–५ की सीता भण्डारी पौडेलको आत्महत्या दुरुत्साहनको मुद्दामा तीन जना पुर्पक्षका लागि कारागार चलान भएका छन्। जिल्ला अदालत रुपन्देहीमा मंगलबार र बुधबार भएको थुनछेकको बहसपछि थुनामा राख्न आदेश भएकाले कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डिएसपी सत्यनारायण थापाले जानकारी दिए।
आत्महत्या दुरुत्साहनको मुद्दामा मृतकका श्रीमान टिका पौडेल, आमाजू बिष्णु पौडेल, जेठाजु हरिप्रसाद पौडेललाई प्रहरीले हिरासतमा राखेकोमा आज कारागार चलान भएका हुन्। एक महिना महिना अघि भदौ २० गते विहान साढे ४ बजे सीता भण्डारी आफ्नै घरमा मृत फेला परेकी थिइन्। उनको माइती पक्षले हत्या भएको दाबी गर्दै आएको थियो। पोष्टमार्टम रिपोर्टमा झुण्डिएरै मृत्यु भएको उल्लेख छ। माइतीपक्षको दबाब पछि प्रहरीले ३ जनालाई नियन्त्रणमा लिएर आत्महत्या दुरुत्साहनमा मुद्दा चलाएको थियो।
सीताको मृत्युको सत्य तथ्य बाहिर ल्याउनुपर्ने माग गर्दै आफन्तले सडकमा विरोध जनाउँदै आएका छन्। अहिलेसम्म पनि माइतीपक्षले सव उठाउन दिएका छैनन्।
केही दिनअघि मृतक भण्डारीको सुसाइट नोट फेला परेको प्रहरीले बताएको थियो। मृतक सीता र उनका श्रीमान टीका पौडेलको मोबाइल प्राविधिक परीक्षणको लागि डिजिटल फोरेन्सिक ल्याबमा पठाइएको र ल्याबको प्रतिवेदन अनुसार मृतक सीताले भदौ २० गते राति १२ बजेर १७ मिनेटमा सुसाइड नोट लेखेको पाइएको प्रहरीले बताएको छ।
सो नोटमा ‘।।।मलाई माफ गरिदिनुहोला, मेरो अर्को जुनी भयो भने म हजुरहरुकै काखबाट जन्मिन चाहान्छु, मलाई यो जिन्दगीबाट पुग्यो म सकिन बाँच्न’ भनि लेखिएको प्रहरीले बताएको छ। नेपालखबरबाट