बागमती प्रदेशसभा अधिवेशन आह्वान गर्न मन्त्रिपरिषद्को सिफारिस
मकवानपुर — वाग्मती प्रदेशसभाको नवौं अधिवेशन आह्वान गर्न सिफारिस गरिएको छ । बुधबार दिउँसो बागमती प्रदेशको मन्त्रिपरिषद् बैठकले असोज २४ गते दिउँसो ३ बजेका लागि प्रदेशसभाको हिउँदे अधिवेशन आह्वान गर्न प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष सिफारिस गर्ने निर्णय गरेको भूमि, व्यवस्था, कृषि तथा सहकारीमन्त्री चन्द्र लामाले जानकारी दिए ।
‘विश्वासको मत लिने वा सदनलाई कसरी अगाडि बढाउने अब सभामुखको हातमा हुन्छ’, मन्त्री लामाले भने । उनले मन्त्रिपरिषद् बैठकमा विश्वासको मत लिने विषयमा कुनै पनि छलफल नभएको बताए । शाक्य नेतृत्वको सरकार अल्पमतमा परेसँगै भदौ ११ गते शुक्रबार प्रदेशसभाको वर्षे अधिवेशन अन्त्य गरेकी थिइन् । प्रदेशमा एकल बहुमत रहेको एमाले विभाजन भएर १३ सांसदले नेकपा (एकीकृत समाजवादी) रोजेसँगै अष्टलक्ष्मी नेतृत्वको सरकार पूर्णरुपमा अल्पमत परिसकेको छ । सरकार अल्पमतमा परेसँगै मुख्यमन्त्री शाक्यले एक महिनाभित्र संसद्बाट विश्वासको मत लिनुपर्ने कानुनी बाध्यता छ ।
वाग्मती प्रदेशमा हाल १०९ सांसद छन् । सभामुखसहित ५६ सांसद रहेको एमालेको तर्फबाट एकल बहुमतको सरकार बनाएकी मुख्यमन्त्री शाक्यसँग हाल ४३ सांसदमात्र छन् । सरकार टिकाउन ५५ सांसद चाहिन्छ । साना दलसँगको सहकार्यमा शाक्यको पद जोगिने सम्भावना छैन । प्रदेशसभामा माओवादी केन्द्रको २३, कांग्रेस २२ र नेकपा ९एस० १३ गरी र स्वतन्त्र सांसद १ गरी विपक्षी गठबन्धनमा ५९ मत रहेको छ । सदनमा ३ मत रहेको विवेकशील साझा पार्टीले मुख्यमन्त्री शाक्यलाई विश्वासको मत नदिने घोषणा गरिसकेको छ ।