भारतले कोभिसिल्ड उपलब्ध गराउने, चीनले १० लाख डोज खोप अनुदानमा दिने
काठमाण्डौ – भारतले अर्को हप्तादेखि नेपाललाई कोरोना विरुद्धको कोभिशिल्ड खोप उपलब्ध गराउने भएको छ । नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले परराष्ट्रमन्त्री नारायण खड्कासँगको भेटमा अर्को हप्तादेखि खोप उपलब्ध गराउने जानकारी गराउनुभएको हो ।
नेपालले खरिद गरेको १० लाख मात्रा कोभिशिल्ड खोप प्राप्त हुन बाँकी छ भने थप खरिदका लागि समेत प्रक्रियामा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यसैबीच चीनले नेपाललाई कोरोनाभाइरस विरूद्धको १० लाख डोज सिनोभ्याक खोप अनुदानमा दिने भएको छ । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठसँगको भेटमा चिनियाँ सरकारले थप १० लाख डोज अनुदानमा दिने निर्णय गरेको जानकारी दिनुभएको हो ।
यस्तै चीनले कोरोनाभाइरसको तेस्रो लहर रोक्नका लागि चाहिने पूर्वाधार बनाउन नेपाललाई चीनले ५० लाख चिनियाँ युआन सहयोग गर्ने स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले ट्वीट मार्फत जानकारी दिनुभएको छ । चीनले यसअघि नेपाललाई भेरोसेल खोप अनुदानमा दिएको थियो भने नेपाल सरकारले पनि चीनसँग भेरोसेल खोप खरिद गरेको थियो ।
सिनोभ्याक खोप अहिलेसम्म नेपालमा प्रयोग भएको छैन । तर यो खोपलाई विश्व स्वास्थ्य संगठनले आपतकालीन प्रयोगको अनुमति दिइसकेको छ ।