मुख्यमन्त्री राउतले आज विश्वासको मत लिँदै

जनपत्र
२० आश्विन २०७८, बुधबार १२:२९

महाेत्तरी – प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले आज बुधवार विश्वासको मत लिनु हुने भएको छ । आज दिउँसो बस्ने प्रदेश सभा बैठकमा मुख्यमन्त्री राउतले विश्वासको मत लिनु हुने भएको मुख्यमन्त्री कार्यालय स्रोतले जनाएको छ ।

मुख्यमन्त्री राउतले संविधानको धारा १८८ को २ अनुसार विश्वासको मत लिन आज प्रदेश सभा बैठक बोलाइएको छ ।

प्रदेश सभामा एक सय चार सदस्य छन् । प्रदेश २ सरकारको नेतृत्व गर्ने जसपाका ३८, कांग्रेसका १९, माओवादी केन्द्रका आठ र नेकपा (एकीकृत समाजवादी) का १३ गरी ७८ जना सदस्यको सुविधाजनक मत मुख्यमन्त्री राउतको पक्षमा छ ।

प्रदेश २ मा जनता समाजवादी पार्टी नेपालको संसदीय दलका नेतासमेत रहनुभएका मुख्यमन्त्री राउतले सत्ता साझेदार दलहरूका प्रदेश सभा सदस्य सङ्ख्याका आधारमा सहजै विश्वासको मत प्राप्त गर्नु हुनेछ । जनता समाजवादी पार्टी विभाजित भएर लोकतान्त्रिक समाजवादी पार्टी (लाेसपा) नेपाल गठन भएपछि प्रदेश नं. २ का मुख्यमन्त्री राउतलाई विश्वासको मत लिने संवैधानिक सङ्कट आएकाे छ ।

प्रमुख प्रतिपक्षी दल लोसपाका नेता जितेन्द्र सोनलले राउत सरकार अवैधानिक भएको दाबी गर्नुभएकाे छ । प्रदेश सरकारबाट जानकी मन्दिरको गरिमामाथि खेलबाड भएको भन्दै आफूहरूले आजको बैठक अवरोध गर्ने नेकपा एमाले संसदीय दलका नेता सत्यनारायण मण्डलले बताउनुभयाे ।

जसपाबाट छुट्टिएकाे लोसपा नेपालले गएकाे भदौ ९ मा निर्वाचन आयोगबाट राजनीतिक दलको मान्यता पाएकाले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान उल्लङ्घन भएको उहाँको दाबी छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*