हेटौंडामा मदन भण्डारीलाई यसरी सम्झियो

जनपत्र
३ जेष्ठ २०७६, शुक्रबार ११:४१

हेटौंडा /  हेटौंडाको सहिद स्मारकमा रहेको मदन भण्डारीको शालिकमा आज माल्यार्पण गरिएको छ । मदन भण्डारी र जीवराज आश्रितलाई सबैले आज बिभीन्न कार्यक्रम गर्दै सम्झिएका छन् । आज जेठ ३ । अर्थात् मदन भण्डारी–जीवराज आश्रित स्मृति दिवस । मदन र जीवराजलाई आफ्नो आदर्श नेता मान्ने नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लगायतले आज स्मारकमा रहेको मदनभण्डारीको शालिकमा फुल माला लगाएर माल्यार्पण गरेका हुन् ।

कार्यक्रममा प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेल, आर्थिक मामिला तथा योजना मन्त्री कैलाश प्रसाद ढुंगेल, नेकपाका पोलिट्ब्युरो सदस्य केदार न्यौपाने, प्रदेश सभाका सदस्यहरु कुमारी मोक्तान, प्रेमबहादुर पुलामी, जिल्ला समन्वय समिति मकवापनुरका प्रमुख रघुनाथ खुलाल, उपप्रमुख भगवती पुणासैनी लगायतका नेकपाका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

एमालेका तत्कालीन महासचिव भण्डारी र संगठन विभाग प्रमुख आश्रितको ०५० जेठ ३ गते आजकै दिन दासढुंगामा भएको जीप दुर्घटनामा परी मृत्यु भएको थियो । मदन पत्नी विद्या भण्डारी राष्ट्रपति र उनका समकालीनले यतिबेला सत्ताको बागडोर सम्हालिरहेका छन् । तर, २६ वर्षअघिको रहस्मय जीप दुर्घटनाको तथ्य अहिलेसम्म सतहमा आउन सकेको छैन । दुर्घटनाका साक्षी जीप चालक अमर लामाको हत्यापछि यो थप रहस्मय बन्न पुगेको छ ।

विचार, वाकपटुतालगायत कारणले चर्चित नेता भण्डारीले जनताको बहुदलीय जनवाद (जबज) विकास गरेका थिए । एमाले र माओवादी केन्द्र एकीकृत भएर निर्माण भएको पार्टी नेकपामा मदनले अघि सारेको जबजबारे बहस छ । आज जेठ ३ गते, मदन–आश्रित स्मृति दिवस । विसं २०५० जेठ ३ गते नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको चितवनस्थित दासढुङ्गामा रहस्यमय जीप दुर्घटनामा परी निधन भएको आज २६ वर्ष पूरा भयो ।

यो २६ वर्षमा नारायणीमा धेरै पानी बग्यो, तर दासढुङ्गा जस्ताको त्यस्तै रह्यो । यो बीचमा भण्डारीको विचार र सिद्धान्त बोकेको पार्टी तत्कालीन नेकपा एमाले पटक–पटक सरकारमा पुग्यो । तर न दुर्घटनाको रहस्य पत्ता लाग्यो न दुर्घटनास्थल दासढुङ्गा र शव प्राप्त भएको गाँजीपुरको विकास नै हुनसक्यो ।

प्रत्येक वर्ष जेठ ३ मा पार्टीका तर्फबाट दासढुङ्गामा रहेको मदन–आश्रितको शालिकमा माल्यार्पण गरिन्छ र मदन–आश्रितको विचार र सिद्धान्तको चर्चा गरिन्छ । यस वर्ष पनि यसलाई निरन्तरता दिइएको छ । घटनाका विषयलाई लिएर थुप्रै चर्चा परिचर्चा चलिरह्यो । तर, दासढुङ्गामा मदन–आश्रितको शालिक भएको स्थान र शव प्राप्त भएको गाँजीपुरको समेत उचित संरक्षणमा सरोकारवालाको ध्यान पुग्न सकेको छैन ।

नेकपाका केन्द्रीय सदस्य देवी ज्ञवालीले मदन–आश्रितको शालिकमा फूलमाला चढाउने र उहाँका विचार र सिद्धान्तको चर्चा गर्नेबाहेक दासढुङ्गा र गाँजीपुरमा ठोस काम हुन नसकेको बताउनुभयो । “मदन भण्डारीको सम्झनाले मात्र सच्चा श्रद्धाञ्जलि हुँदैन”, ज्ञवालीले भन्नुभयो, “मदन भण्डारीको सम्मान फूलमालाले होइन, कामबाट गर्नुपर्छ ।” जनतालाई खुशी र सुखी बनाउन सकेमात्र मदन–आश्रितप्रति सच्चा सम्मान हुने उहाँले बताउनुभयो ।

नेकपाका नेता तथा प्रदेश नं ३ का प्रदेशसभा सदस्य विजय सुवेदीले ठोस पहलकदमीको अभावले दासढुङ्गा र गाँजीपुरको विकास हुननसकेको बताउनुभयो । “पच्चीस वर्षमा पुल निर्माणलगायतका काम भएका छन्”, सुवेदीले भन्नुभयो, “तर कसैले नेतृत्व गरेर काम नगरेका कारण प्रगति हुनसकेको छ्रैन ।” उहाँले पछिल्लो समय मदन भण्डारी फाउण्डेशनले अग्रसरता देखाएर केही कामको शुरुआत गरे पनि त्यसको परिणाम आइनसकेको बताउनुभयो । दासढुङ्गा र गाँजीपुर राजनीतिक र पर्यटकीय क्षेत्र बन्नुपर्ने उहाँको धारणा छ ।

“दासढुङ्गा विश्वमा चर्चामा आएको नाम हो”, भरतपुर महानगरपालिका–२९ का वडाध्यक्ष मानबहादुर रानामगरले भन्नुभयो, “देशभर यो ठाउँलाई हेर्ने दृष्टिकोण नै फरक छ ।” तर संरक्षण अभावमा दासढुङ्गा कुरूप बन्न थालेको भन्दै उहाँले चिन्ता व्यक्त गर्नुभयो । “यो सडक भएर दैनिक हजारौँ ओहोरदोहोर गर्छन्”, उहाँले भन्नुभयो, “दासढुङ्गा संरक्षण नहुँदा धेरैले चिन्ता व्यक्त गर्ने गरेका छन् ।” बजेट अभावमा दासढुङ्गामा व्यवस्थित तारजालीको समेत व्यवस्था गर्न नसकिएको उहाँले गुनासो गर्नुभयो ।

नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० चितवनका अध्यक्ष यमबहादुर परियारले यस वर्ष पनि भरतपुरबाट र्‍यालीसहित दासढुङ्गामा नियमित श्रद्धाञ्जलि कार्यक्रम आयोजना गरिने बताउनुभयो । उहाँले नेपालको कम्युनिष्ट राजनीतिलाई बहुदलीय प्रतिस्पर्धामा ढाल्न स्व भण्डारीको महत्वपूर्ण योगदान रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “भण्डारीको मार्गनिर्देशक सिद्धान्तमा चल्दै आएको तत्कालीन नेकपा एमाले र २१औँ शताब्दीको माओवादको विचारका आधारमा जनयुद्धमा होमिएको तत्कालीन माओवादी केन्द्रको एकताको मुख्य आधार नै दुवै पार्टीको लोकतान्त्रिकरण हो ।” अध्यक्ष परियारले नेकपाको अन्तरिम विधानमा हिजोका दुवै पार्टीका मार्गदर्शक सिद्धान्त आजसम्म पनि छलफल र बहसमा नै रहेको बताउनुभयो । नेकपाले भविष्यमा पनि यिनै विचारलाई आधार बनाएर भावी महाधिवेशनमा थप मार्गनिर्देशक सिद्धान्त अवलम्बन गर्दै जाने उहाँले बताउनुभयो । मदन–आश्रितका सपना भर्खर एकीकृत भएको नेपाल कम्युनिष्ट पार्टीले पूरा गर्ने उहाँको जिकिर छ ।

स्व भण्डारीको विचार र सिद्धान्त वर्तमान समयमा पनि उत्तिकै सान्दर्भिक रहेको मदन भण्डारी फाउण्डेशन चितवनका संस्थापक अध्यक्ष जेएन थपलियाले बताउनुभयो । उहाँले विगतमा भएका प्रयासले ठोस मूर्तरुप दिन नसके पनि यस वर्षदेखि दासढुङ्गा र गाँजीपुरको विकासका लागि काम शुरु भएको बताउनुभयो ।

मदन भण्डारी फाउण्डेशन चितवनका अध्यक्ष डा तिलचन्द्र भट्टराईले पछिल्लो समय विज्ञ टोलीले दासढुङ्गा र गाँजीपुरको अवधारणापत्र तयार गरिरहेको बताउनुभयो । दासढुङ्गाको करीब १२ बिघा क्षेत्रफललाई समेटेर सडक, उद्यान र अन्तर्राष्ट्रिय राजनीतिक अध्ययन केन्द्र निर्माणको तयारी भइरहेको उहाँले जानकारी दिनुभयो । “अहिले भइरहेको उद्यानलाई पनि व्यवस्थित गराउँदैछौँ”, भट्टराईले भन्नुभयो, “तनहुँतर्फको क्षेत्रमा पनि मदन–आश्रितको ठूलो शालिक र उद्यान निर्माण हुँदैछ ।” उहाँले दासढुङ्गा क्षेत्रलाई पर्यटकीयस्थलको रुपमा विकास गरिने बताउनुभयो । विज्ञ टोलीले तयार पारेको अवधारणापत्र छिट्टै प्रदेश सरकार र केन्द्र सरकारलाई बुझाउने उहाँले जानकारी दिनुभयो ।

दुर्घटनापछि शव चितवनकै गाँजीपुरमा जेठ ५ गते भेटिएको थियो । शवलाई त्यसै दिन भरतपुरको प्रहरी कार्यालय अगाडि रहेको गेष्टहाउस चौरमा राखिएको थियो । चितवनमा हजारौँ कार्यकर्ताले अन्तिम श्रद्धाञ्जलि व्यक्त गरेपछि शवलाई काठमाडौँ पठाइएको प्रदेशसभा सदस्य सुवेदी सम्झनुहुन्छ । निधन हुनुभन्दा अघि भण्डारीले चितवनका विभिन्न पार्टी बैठक, सभा र कार्यक्रमलाई सम्बोधन गरेको सुवेदीको स्मरणमा आजसम्म पनि ताजै छ ।

घटनाका एकमात्र जीवित सवारी चालक अमर लामाको १० वर्षपछि हत्या गरियो । लामाको हत्याले घटनालाई अझै रहस्यमय बनायो । दासढुङ्गा घटनापश्चात पूर्वसांसद स्व जागृतप्रसाद भेटवालको संयोजकत्वमा दासढुङ्गा व्यवस्थापन समिति गठन भएको थियो । समितिले शुरुआतका चरणमा केही काम गरे पनि ठोसरूपमा दीर्घकालीन काम हुनसकेको छैन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*