बजारमा हुने ठगी नरोकिएको उपभोक्ताको गुनासो
काठमाण्डाै – सरकारी निकायले बजारमा अनुगमन निरन्तर भइरहेको दाबी गरे पनि उपभोक्ताले बजारको अवस्था नसुध्रिएको गुनासो गरेका छन् ।
बजारमा कालोबजारी र अनियमिता हुँदा आफूहरु ठगिँदै आएको उपभोक्ताको गुनासो छ । व्यापारीले मनलाग्दी भाउ लिने गरेका र सुपथ मूल्य पसलमा जाँदा चिनिलगायत अत्यावश्यक वस्तुको अभाव रहेको बालाजुका रामकाजी चक्रधरले गुनासो गर्नुभयो ।
वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले गरेको अनुगमनमा पनि म्याद गुज्रिएका खाद्य वस्तु फेला पारेको छ । मूल्यसमेत अचाक्ली लिने गरेको पाइएको छ । चाडपर्वमा मात्रै नभइ बजार अनुगमन नियमित भइरहेको तर पनि बजारको अवस्थामा सुधार नआएको विभागका प्रवक्ता शिवराज सेढाईँले बताउनुभयो ।
अहिले चाडपर्व केन्द्रित बजार अनुगमन हुँदै आएको छ । चाडपर्वमा बढी सामानको माग र खपत हुने हुँदा बजारमा खाद्यवस्तुको कृत्रिम अभाव सिर्जना गरेर मूल्य बढाउने, गुणस्तरहीन वा म्याद नाघेका सामान बिक्री गर्ने र नापतौलमा ठगी गर्नेजस्ता समस्या नहोऊन् भनेर अनुगमन गरिरहेको उहाँले बताउनुभयो ।
विभागको नेतृत्वमा खाद्य, प्रविधि तथा गुण नियन्त्रण विभाग, नेपाल नापतौल तथा गुणस्तर विभाग, जिल्ला प्रशासन कार्यालय, महानगरीय प्रहरी, उपभोक्ता अधिकारकर्मीसहितको संयुक्त अनुगमन टोलीले नियमित रूपमा बजार अनुगमन गरिरहेका छन् । डेढ हप्तादेखि दैनिक छ वटा टोलीले बजार अनुगमन गरिरहेको छ ।
जसमा पाँचवटा टोलीले खाद्यवस्तु, तरकारी, लत्ताकपडा, यातायातलगायतमा छुट्टाछुट्टै अनुगमन गरिरहेको छ भने एउटा टोली विभागमै उजुरी र गुनासो आउनेबित्तिकै आकस्मिक अनुगमनमा जाने गरी तयारी अवस्थामा छ ।