हेटौंडाको वनस्पति अनुसन्धान केन्द्र र मकवानपुर क्याम्पस बीच रिसर्च इन्टर्न गर्न हस्ताक्षर
हेटौंडा । हेटौंडा उपमानगरपालिका वडा नम्बर–१३ मा रहेको वनस्पति अनुसन्धान केन्द्र, मकवानपुर र मकवानपुर बहुमुखी क्याम्पसका बीचमा स्वीकृत रिसर्च इन्टर्न कार्यान्वयन सम्बन्धी समझदारी पत्रमा आज हस्ताक्षर गरिएको छ । केन्द्रका प्रमुख रघुराम पराजुली र मकवानपुर क्याम्पसका प्रमुख डाक्टर शंकर प्रसाद उपाध्यायका विचमा हस्ताक्षर भएको हो ।
अनुसन्धान केन्द्रमा वनस्पतिको अध्ययन, अनुसन्धान, संरक्षण तथा वनस्पति सम्बन्धी व्यवहारिक सिकाइको समेत अवसर रहेकोले रिसर्च इन्टर्नलाई पनि कार्यालयले प्रोत्साहन दिंदै आएको छ । यसै अनुरुप आर्थिक वर्ष ०७८।०७९ को रिसर्च इन्टर्न कार्यक्रममा विज्ञान विषयमा स्नातक तहको पढाइ हुँदै आएको मकवानपुर बहुमुखी क्याम्पसबाट माग भइ आएकोले समझदारी पत्रमा हस्ताक्षर गरिएको हो । समझादारी पत्रमा प्रथम पक्ष र दोश्रो पक्षबीच रिसर्च इन्टर्नको लागि विद्यार्थी छनोटको लागि समन्वय हुने भएको छ ।
दोश्रो पक्षले प्रथम पक्षलाई रिसर्च इन्टर्नको लागि प्रथम पक्षको कार्यक्षेत्र अनुकूलका उमेदवार उपयुक्त संख्यामा उपलब्ध गराए पश्चातमात्र सम्झौता भइ कार्यान्वयनमा जाने भएको केन्द्रका प्मुख रघुराम पराजुलीले वताउनुभयो । सम्झौता हुनु अगावै वन तथा वातावरण मन्त्रालय वा वनस्पति विभाग वा अन्य कुनै तालुकी निकायबाट समझदारी गर्न नहुने खालका कुनै नीतिगत निर्देशनहरु भएमा समझदारी स्वत खारेज हुने वताइएको छ ।
वन तथा वातावरण मन्त्रालय अन्तर्गत रहेको वनस्पति विभाग मातहत सात वटा वनस्पति अनुसन्धान केन्द्रहरु र तीन केन्द्रिय कार्यालयहरु रहेका छन् । यी मध्ये वनस्पति अनुसन्धान केन्द्र, मकवानपुर एक हो। नेपाल संघीय शासन प्रणालीमा गइसकेपछि नयाँ संरचना अनुरुप वनस्पति विभाग र अन्तर्गतका निकायहरु २०७६ सालबाट संघ अन्तर्गत रहेका छन् ।
सोही क्रममा साविकका जिल्ला वनस्पति कार्यालयहरु वनस्पति अनुसन्धान केन्द्रमा रुपान्तरित भएका छन् । वनस्पति अनुसन्धान केन्द्र, मकवानपुर अन्तर्गत तीन वटा वनस्पति उद्यानहरु सञ्चालनमा रहेका छन् । वानस्पतिक अध्ययन अनुसन्धानको लागि विभिन्न कलेज तथा विद्यालयका विद्यार्थीहरुको लागि वनस्पति अनुसन्धान केन्द्र अन्तर्गतका वनस्पति उद्यानहरुमा थप आकर्षण बढ्दै गइरहेको छ ।