साउनयता साढे १४ लाख रुपैयाँ बढीकाे म्याद गुज्रिएका वस्तु नष्ट

जनपत्र
११ आश्विन २०७८, सोमबार १३:५७

काठमाण्डाै – गएको साउनयता साढे १४ लाख रुपैयाँभन्दा धेरैकाे म्याद गुज्रिएका वस्तु नष्ट गरिएको छ ।

वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले गरेको अनुगमनमा १४ लाख  ५३  हजार  ५ सय ५४ रुपैयाँ बराबरको वस्तु नष्ट गरिएको विभागका प्रवक्ता शिवराज सेढाईँले जानकारी दिनुभयो।

उहाँका अनुसार विभागले हरेक दिन ५ वटा टोलीमार्फत दैनिक ५० वटा पसलमा अनुगमन गर्दै आएको छ । अनुगमनका क्रममा हरेक व्यापारीले केही न केही अनियमितता गरेको भेटिएको उहाँले जानकारी दिनुभयो।

धेरैजसो पसलमा म्याद गुज्रेका सामान बेच्ने र बढी मूल्य लिने गरेको भेटिएको छ । विभागले  साउनयता अहिलेसम्म २३ लाख रुपैयाँ जरिबाना असुलेको छ । नियमित अनुगमन गर्दै आएको दाबी गरेको विभागले अहिले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट १२ जना कर्मचारी थप गरेर दशैँ तिहार लक्षित अनुगमन सुरु गरेको छ ।

यो अनुगमनमा पनि व्यापारीले म्याद गुज्रिएका सामान बेच्ने र भाउ बढाउने गरेका पाइएको छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले दशैँ तिहारलाई लक्षित गरेर गरेको अनुगमनमा पनि  धेरैजसो व्यापारीले म्याद गुज्रिएका सामान बेच्ने र उपभोक्तासँग बढी मूल्य लिने गरेको भेटिएको प्रवक्ता सेढाईँले जानकारी दिनुभयो ।

यो महिना  सुरु भएपछि विभागले अहिलेसम्म झण्डै ६ सय वटा पसलमा अनुगमन गरिसकेको छ । नियम उल्लङ्घन गर्नेलाई कसुर अनुसार ५ हजार देखि तीन लाख रुपैयाँसम्म जरिबाना हुने गरको छ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*