द्रुतमार्गका कारण मकवानपुरका पूर्वी क्षेत्रका बासिन्दालाई दुःख

धरान–चतरा आयोजनाले फास्ट–ट्य्राकमा पर्ने भन्दै सडक कालोपत्र नगर्दा आउजाउमा समस्या
जनपत्र
८ आश्विन २०७८, शुक्रबार १७:१४

मकवानपुर — निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई–मधेस द्रुतमार्ग (फास्ट–ट्र्याक) परियोजनाका कारण मकवानपुरका पूर्वी क्षेत्रका बासिन्दाले बर्सेनि दुःख भोग्न बाध्य छन् । बकैया र वाग्मती गाउँपालिकामा निर्माणाधीन मदन भण्डारी राजमार्ग (धरान–चतरा) सडक आयोजनाले करिब ४० किलोमिटर सडक कालोपत्र गरिसकेको छ । तर यस खण्डकै सबैभन्दा अप्ठ्यारो स्थान मानिने एक किलोमिटरभन्दा बढी सडक फास्ट–ट्र्याकका कारण नबन्दा स्थानीयले सास्ती भोगिरहेका हुन् ।

बकैया–५ स्थित श्रीपुरको उकालोमा फास्ट–ट्र्याक परियोजनाका कारण निर्माण हुन सकेको छैन । जसले सडक वर्षामा हिलाम्य र हिउँदमा धुलाम्मे हुने गरेको छ । सडककै दूरवस्थाका कारण यात्रु आउजाउमा मात्र होइन, स्थानीय उत्पादन बजारसम्म पुर्‍याउनसमेत कठिन हुने गरेको स्थानीय सरोज तामाङले गुनासो गरे । यो स्थान फास्ट–ट्र्याक र धरान–चतरा सडक जोडिने बिन्दु हो । यो खण्ड धरान–चतरा सडक आयोजनामा पर्ने भए पनि भौतिक पूर्वाधार मन्त्रालयले फास्ट–ट्र्याक परियोजना निर्माणस्थलबाट दायाँ–बायाँ ६र६ सय मिटर गरेर १२ सय मिटर सडक निर्माणको जिम्मेवारी नेपाली सेनालाई दिएको छ । जसका कारण धरान–चतरा आयोजनाले यहाँ कालोपत्र नगरेको हो ।

‘फास्ट–ट्र्याक निर्माणको जिम्मा लिएको सेनाले तत्काल काम गर्ने देखिँदैन । जसले गर्दा यो समस्या हामीले लामो समयसम्म भोग्नुपर्ने देखिन्छ,’ तामाङले भने, ‘यो स्थान असाध्यै अप्ठेरो छ । भिरालो भएका कारण वर्षात्मा बढी समस्या हुन्छ । हिउँदको समयमा धूलो उडेर हैरान पार्छ ।’ उनले दैनिक गाडी फसेर घण्टौं जाम पर्ने समस्या भइरहेको बताए । समस्याबारे स्थानीय तह, प्रदेश र संघीय सरकारसमेत जानकार रहे पनि समाधानका लागि कतैबाट पहल नभएको गुनासो स्थानीयको छ ।

‘फास्ट–ट्र्याक सेनाले निर्माण गरिरहेको भए पनि जनताले पाइरहेको दुःखले उनीहरूलाई छोएको छैन । दैनिक सवारी आउजाउमा समस्या भइरहेको छ । यो समस्या समाधान नहुँदा थोरै दूरीको यात्राका लागि पनि धेरै समय लाग्ने गरेको छ,’ अर्का स्थानीय विक्रम लामाले भने । सेनाले त्यस क्षेत्रमा कालोपत्र गर्न धरान–चतरा सडक आयोजनालाई पहिल्यैबाट असहयोग गरिरहेको थियो । जसका कारण त्यहाँ सडक कालोपत्र हुन सकेको थिएन । सेनाले फास्ट–ट्र्याक कालोपत्र गर्ने समयमा मात्र यो क्षेत्रको स्तरोन्नति हुने देखिन्छ । धरान–चतरा आयोजनाले मकवानपुरको पूर्वी क्षेत्रको जनजीवन सहज बनाइरहेका बेला हेटौंडाबाट २३ किलोमिटर दूरीमा रहेको झन्डै १ किमि सडकको अवस्था भने जर्जर छ । यसबारे स्थानीयले पटक–पटक ध्यानाकर्षण गराए पनि सेनाले पूर्णरूपमा बेवास्ता गरिरहेको छ । स्थानीयले यो खण्ड निर्माण धरान–चतरा आयोजनालाई गर्न दिएर सेनाले आवश्यकताअनुसार भत्काउने गरी अगाडि बढ्न सुझाए पनि सुनुवाइ नभएको लामाले गुनासो गरे ।

‘दैनिक सयौं सवारीसाधन गुड्ने सडकमा कालोपत्र नहुँदा साना ठूला दुर्घटना सधैंजसो हुने गरेका छन्,’ लामाले भने । उनले केही समयअघि उक्त स्थानमा बस दुर्घटना हुँदा १० जनाभन्दा बढी घाइते भएको सम्झिए । यही स्थानमा धरान–चतरा आयोजना निर्माण गरिरहेको कालिका कन्स्ट्रक्सनको टिपर दुर्घटना हुँदा एक जनाले ज्यानसमेत गुमाएका थिए । ‘मोटरसाइकल दुर्घटना दैनिकजसो हुन्छ । पानी परेको समयमा सवारी चलाउनै सकिन्न,’ उनले भने ।बकैया गाउँपालिका अध्यक्ष दामोदर खनालले यो समस्या समाधानको विषयमा सेना, धरान–चतरा आयोजना र स्थानीयबीच साझा सहमति गरेर अगाडि बढ्ने प्रयास भइरहेको बताए । ‘फास्ट–ट्र्याक निर्माणको क्रममा भत्किने भएपछि निर्माण गर्न समस्या भएको सेनाले बताएको छ । तत्कालका लागि के गर्न सकिन्छ भनेर हामी छलफलमै छौं,’ उनले भने । कान्तिपुरका लागि सुवास विडारीले लेखेको समाचार हामिले सभार गरेका हौं ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*