सबै प्रदेशको आ–आफ्नो प्रहरी सङ्गठन हुनुपर्छ : नेता निधि
नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले सङ्घीयताको संवर्द्धनका लागि सबै प्रदेशको आ–आफ्नो प्रहरी सङ्गठन हुनुपर्ने बताउनुभएको छ ।
आज आइतवार महेन्द्र नारायण निधि स्मृति प्रतिष्ठानले काठमाण्डौमा आयोजना गरेको वर्तमान राजनीतिक अभ्यास र संविधान विषयक कार्यक्रममा बोल्दै उपसभापति निधिले यस्तो बताउनुभएको हो । संविधानमा नै सबै प्रदेशको आफ्नै प्रहरी हुने व्यवस्था भए पनि अहिलेसम्म संविधानको त्यो व्यवस्था कार्यान्वयन हुन नसकेको उहाँले बताउनुभयो । सङ्घीयताको सम्वर्द्धनका लागि पहिलो, दोस्रो र तेस्रो प्राथमिकता सबै प्रदेशका प्रहरी सङ्गठन बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।
नेता निधिले भन्नुभयो ‘सातै प्रदेशमा, सबै प्रदेशको आ–आफ्नो प्रादेशिक प्रहरीको व्यवस्था तत्काल होस् । अब त चार वर्ष भइसक्यो चुनाव भएको पनि । संविधानको कुनै एउटा धारामा पनि के लेखेको छ भने सबै प्रदेशको आ–आफ्नै प्रहरी सङ्गठन हुनेछ । म आज संविधान दिवसको अवसरमा भन्न चाहन्छु, आजको आवश्यकता सङ्घीयतालाई सम्वर्द्धनका लागि पहिलो प्राथमिकता सबै प्रदेशको प्रहरी, दोस्रो प्राथमिकता सबै प्रदेशको प्रहरी, तेस्रो प्राथमिकता सबै प्रदेशको प्रहरी ।’
उपसभापति निधिले नेताहरूले नै सङ्घीयताअनुसारको मानसिकता बनाउन नसकेको टिप्पणी गर्नुभयो । नेताहरूमा टोलको अधिकार पनि सिंहदरबारबाट सम्पादन गर्ने मानसिकता रहेको भन्दै उहाँले नेताहरूले सङ्घीयताको बारेमा नागरिकलाई प्रशिक्षित गर्ने र आफू पनि प्रशिक्षित हुनुपर्ने बताउनुभयो । उज्यालोबाट