ह्वाट्सएपमा ह्याकरको आक्रमण, प्रयोगकर्ताको गतिविधिमाथि अवैध निगरानी

म्यासेजिङ्ग एप्लिकेशन ह्वाट्सएपमा अवैध रुपमा निगरानी गर्न सकिने सफ्टवेयर फोनमा ह्याकरले इन्स्टल गरेको पुष्टि भएको छ । उनीहरुले यसमार्फत प्रयोकर्ताको गतिविधिमाथि अवैध रुपमा निगरानी गरिरहेको पुष्टि भएको बिबिसीले उल्लेख गरेको छ ।
फेसबुक मातहत रहेको ह्वाट्स एपले ह्याकरले ‘छानिएका नम्बर’ का प्रयोगकर्ताको गतिविधिमाथि परिष्कृति साइबर गतिविधि मार्फत निगरानी गरेको उल्लेख गरेको छ । समस्याको शुक्रबार समाधान गरिएको जनाइएको छ । सोमबार ह्वाट्स एपले आफ्ना सबे एक अर्ब ५० करोड प्रयोगकर्तालाई आफ्नो फोनमा रहेको एप्लिकेशन अपडेट गर्न सुझाव दिएको थियो । एप्लिकेशनमाथि भएको आक्रमणबारे मे महिनाको सुरुमा द फाइनान्सियल टाइम्सले खबर प्रकाशित गरेको थियो । ह्याकरले प्रयोकर्ताको फोनमा कल गर्ने र त्यो कल नउठे पनि अवैध रुपमा निगरानी गर्ने सफ्टवेयर फोनमा इन्स्टल हुने गरेको फाइनान्सियल टाइम्सले जनाएको थियो ।