बागमतीमा विपक्षी गठबन्धनलाई मुख्यमन्त्री टुंग्याउन सकस

आधा कार्यकाल नेतृत्व गर्न पाउनुपर्ने कांग्रेसको दाबी, भागबन्डा प्याकेजमै गर्नुपर्ने माओवादीको भनाइ, एकीकृत समाजवादीका नेता पाण्डे भन्छन्– ‘भागबन्डाअनुसार वाग्मतीमा आफ्नै नेतृत्व’
जनपत्र
२९ भाद्र २०७८, मंगलवार १०:२०

मकवानपुर — वाग्मती प्रदेशमा विपक्षी गठबन्धनलाई भावी मुख्यमन्त्रीको नाम टुंग्याउन सकस परेको छ । अष्टलक्ष्मी शाक्य नेतृत्वको प्रदेश सरकार औपचारिक रूपमा अल्पमतमा परिसकेको अवस्थामा विपक्षी गठबन्धनमा रहेका माओवादी केन्द्र, कांग्रेस र नेकपा (एकीकृत समाजवादी) को सरकार बन्ने निश्चित भइसकेको छ । तर प्रदेशको मुख्यमन्त्रीको विषयमा गठबन्धनमा सहमति नजुट्दा शाक्य नेतृत्वको सरकारको आयु लम्बिँदै गएको छ ।

एमाले विभाजन भएर गठन भएको एकीकृत समाजवादीले प्रदेशमा औपचारिक मान्यता पाउँदासम्म पनि नयाँ सरकारको नेतृत्व गठबन्धनबाट कसले गर्ने भन्ने अझै टुंगो लागेको छैन । गठबन्धनबाट मुख्यमन्त्रीको दौडमा कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ र एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डे छन् । बानियाँले आधा समयका लागि भए पनि आफ्नो नेतृत्वमा सरकार बन्नुपर्ने भन्दै प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष लबिइङ गरिरहेका छन् । पाण्डेले एकल बहुमत रहेको एमाले विभाजन भएर सरकार गठन हुने अवस्था सिर्जना भएको भन्दै आफूले नेतृत्व पाउनुपर्ने दाबी गरिरहेका छन् ।

माओवादीले मुख्यमन्त्रीमा आफ्नो दाबेदारी नरहेको यसअघि नै स्पष्ट पारिसकेको छ । गठबन्धनमा नेतृत्वको विषयमा टुंगो नलाग्दा माओवादीले सोमबार दिउँसो १२ बजे र कांग्रेसले दिउँसो २ बजेका लागि बोलाएको संसदीय दलको बैठक अचानक स्थगन गरेका थिए । एकीकृत समाजवादीले आफ्ना १३ सांसदसहित शाक्य नेतृत्वको सरकार हटाउने र भावी मुख्यमन्त्रीका रूपमा पाण्डेलाई अगाडि बढाउने भन्दै हेटौंडामा तयारी अवस्थामा रहे पनि माओवादी र कांग्रेसले संसदीय दलको बैठक नराख्दा चुप बस्न बाध्य भएको छ । वाग्मतीमा सरकार निर्माणका लागि ५५ मत आवश्यक छ । प्रदेशसभामा माओवादीको २३, कांग्रेसको २२ र एकीकृत समाजवादीको १३ मतसहित कुल ५८ मत छन् । स्वतन्त्र सांसद प्रेम तामाङको साथ पनि गठबन्धनलाई छ । उनी जसपानिकट हुन् । एमालेका ४३ सांसद छन् । साना दलको सहयोगमा पनि एमालेको सरकार टिक्ने अवस्था छैन ।

नेता पाण्डेले प्रदेश सरकारको नेतृत्व आफूले गर्ने दाबी गरिरहेका छन् । उनले प्रदेश १ मा समेत गठबन्धनका तर्फबाट एकीकृत समाजवादीले नै नेतृत्व गर्ने दाबी गरे । ‘गठबन्धनका तर्फबाट ६ वटा प्रदेशमध्ये कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीबाट २र२ मुख्यमन्त्रीको भागबन्डा भएको छ,’ उनले भने । उनका अनुसार गण्डकी र कर्णालीमा कांग्रेसले नेतृत्व गर्ने भन्दै कर्णालीमा माओवादीले कांग्रेसलाई छोड्ने निर्णय भइसकेको छ भने लुम्बिनी र सुदूरपश्चिममा माओवादीले मुख्यमन्त्री पाइसकेको छ । कांग्रेस नेता बानियाँले वाग्मतीमा मुख्यमन्त्रीको विषय टुंगिन बाँकी रहेको बताए ।

‘मुख्यमन्त्रीको विषय केन्द्रबाटै टुंगिन्छ । त्यसलाई आत्मसात् गर्दै अगाडि बढ्न जरुरी छ । प्रदेशमा नेतृत्वसहित मन्त्रालयको भागबन्डा प्याकेजमै गरेर अगाडि बढ्नुपर्ने माओवादी पक्षको भनाइ छ । ‘नेतृत्वको विषय टुंगिएपछि बिस्तारै सवै विषय टुंगिन्छ । हामी प्याकेजमै सहमति गरेर अगाडि बढ्छौं,’ माओवादी नेता शालिकराम जम्मकट्टेलले भने । माओवादीले बानियाँको नेतृत्वमा जाँदा सहज हुने भन्दै उनको पक्षमा लबिइङ गरिरहेको छ । कांग्रेसले वाग्मतीमा एकीकृत समाजवादी र आफूले आधारआधा कार्यकाल मुख्यमन्त्रीका रूपमा नेतृत्व गर्न पाउनुपर्ने दाबी गरिरहेको छ ।

प्रक्रियामा पनि अलमल

प्रदेश सरकार शीघ्र परिवर्तनको हतारमा रहेको गठबन्धनमा कुन प्रक्रियाबाट अगाडि बढ्ने समेत अलमल देखिन्छ । हालकै अवस्थामा सरकार परिवर्तन गर्न कि ३० दिनसम्म शाक्यले विश्वासको मत लिनुपर्ने समय कुर्नुपर्ने हुन्छ वा उनीमाथि अविश्वासको प्रस्ताव लगेर विशेष अधिवेशन बोलाउनुपर्छ । तर मुख्यमन्त्रीको विषयमा सहमति नहुँदा कुन प्रक्रियाबाट अगाडि बढ्ने निचोडमा गठबन्धन पुग्न सकेको छैन । भावी मुख्यमन्त्री चयन गर्न सबैभन्दा छोटो बाटो अविश्वासको प्रस्ताव हो । त्यसका लागि प्रदेश प्रमुखमार्फत विशेष अधिवेशन आह्वान गर्नुपर्ने हुन्छ ।

अविश्वासको प्रस्ताव दर्ता गराउन नयाँ मुख्यमन्त्रीको नामसमेत किटान गर्नुपर्छ । भावी मुख्यमन्त्री को हुने भन्ने विषय नटुंगिँदा यो प्रक्रिया तत्कालै सुरु हुने अवस्था छैन । प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता गराएर प्रदेश प्रमुखलाई गठबन्धनमा बहुमत रहेको जानकारी गराएपश्चात् उनले १५ दिनभित्र संसद्को विशेष अधिवेशन आह्वान गर्नुपर्ने प्रावधान छ । हाल प्रदेशसभाको अधिवेशन स्थगन भएका कारण यस्तो अवस्था सिर्जना भएको हो । मुख्यमन्त्री शाक्यले आफ्नो सरकार अल्पमत परेको र आफूविरुद्ध अविश्वासको प्रस्ताव आउने डरले अधिवेशन स्थगन गरेकी हुन् ।

पदाधिकारी चयन

एकीकृत समाजवादीले वाग्मती प्रदेश संसदीय दलका पदाधिकारी चयन छ । संसदीय दलको सोमबार हेटौंडामा बसेको बैठकले प्रमुख सचेतकमा मुनु सिग्देललाई चयन गरेको हो । दलका नेता पाण्डेको अध्यक्षतामा बसेको बैठकले उपनेतामा कृष्ण खनाल र सचेतकमा बसुन्धरा हुमागाईंलाई जिम्मेवारी दिएको छ । बैठकले शाक्य नेतृत्वको प्रदेश सरकार अल्पमतमा परेकाले गठबन्धन सरकार बनाउने निर्णय गरेको सचेतक हुमागाईंले बताइन् ।

‘गठबन्धनमा रहेका दलहरू कांग्रेस र माओवादी केन्द्रसँग समन्वय गर्ने जिम्मवेवारी दलका नेता पाण्डेलाई दिइएको छ,’ उनले भनिन् । बैठकले गठबन्धन सरकार बन्ने निश्चित भएको भन्दै साझा न्यूनतम कार्यक्रम मस्यौदा गर्न माधव पौडेल, बसन्त मानन्धर, मीना ज्ञवाली र बसुन्धरा हुमागाईंलाई जिम्मा दिएको छ । कान्तिपुरका लागि सुवास विडारीले लेखेको समाचार हामिले साभार गरेका हौं ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*