मलेसियामा १६ वर्षदेखि सम्पर्कविहीन सर्वजित, खाेजी गरिदिन परिवारकाे अपिल

जनपत्र
२८ भाद्र २०७८, सोमबार १२:२८

पर्वत – रोजगारीका लागि मलेसिया गएका पर्वतका एक युवा १६ वर्षदेखि बेपत्ता भएका छन् । महाशिला गाउँपालिका–१ होश्राङ्दीको अर्गाउदीका उमाराज र विष्णुमाया विकका  छोरा सर्वजित विक सम्पर्कविहीन हुनुभएकाे छ ।  विसं २०६२ मा मलेसिया जानुभएका सर्वजित हालसम्म परिवारकाे सम्पर्कमा नआएपछि परिवारले खोजी गरिदिन अपिल गरेका छन् ।

छोरालाई हालसम्म सबै ठाउँमा खोजतलास गर्दा पनि अत्तोपत्तो नभएपछि खोजी गरिदिन आमा विष्णुमायाले सबैलाई अपिल गर्नुभएको छ । राम्रो लाउने मीठो खाने सपना बोकेर धन कमाउने आशामा विदेश गएको छोरा बेपत्ता भएपछि आफूहरु अत्यन्त पीरमा परेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “घरको आर्थिक समस्याले छोरालाई विदेश पठायौँ तर १६ वर्षसम्म छोराको अत्तोपत्तो नपाउँदा हामी छोराकै पीरले दिनको भोक न रातको निद भएका छाैँ ।” विष्णुमायाले भक्कानिँदै भन्नुभयो । मलेसिया गएको चार वर्षसम्म छोराले फोन गरिरहने गरे पनि त्यसपछि कुराकानी हुन छोडेको उहाँको भनाइ छ ।

‘अहिले कहाँ कस्तो अवस्था छ, कुनै आपत्विपत् परेर हो कि अथवा केही भयो कि ?’, विष्णुमायाले भन्नुभयाे, ‘छोराको अवस्था थाहा पाउन नसकेपछि हामी साह्रै सस्यामा परेका छौँ ।’

लामो समयसम्म पनि छोरा घर नफर्केपछि छोरा आमाबाबु चौबिसै घण्टा पिरोलिने गरेको बेपत्ता सर्वजितकी भाउजू सम्झना विकले बताउनुभयो ।

काठमाण्डाै मेभ मेनपावरबाट मलेसिया जानुभएका सर्वजित मलेसियाको सेलेङगर भन्ने ठाउँमा (निलेइ कम्पनी) हेन गल्वस कम्पनीमा काम गर्नुभएकाे थियाे । चार वर्षसम्म त्यही कम्पनीमा काम गरेको र त्यसपछि त्यहीँबाट सम्पर्कविहीन भएको उहाँकी आमा विष्णुमायाकाे भनाइ छ । ​सर्वजितलाई विदेश पठाएको मेनपावर अहिले बन्द भएको छ । हालसम्म धेरै खोजी गर्दा पनि सर्वजितको अवस्था पत्ता नलागेको उहाँले बताउनुभयो । विक परिवार अझै पनि छोरो घर फर्किन्छ भन्ने आशामा रहेका छन् । छोरा गएको ठाउँ मलेसियालगायत सबैतिर खोजिदिन परिवारले आग्रह गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*