मकवानपुरका शिब मन्दिरहरुमा तीजको रौनक, कोरोनाको जोखिम बढ्यो
हेटौंडा । मकवानपुरका शिब मन्दिरहरुमा तीजको रौनक बिहानै देखि बढेको छ । बिशेषगरी हेटौंडाको हुप्राचौरमा रहेको पशुपती मन्दिरमा तीजको अवसरमा नाचगान गर्ने, गित गाउने, पुजा गर्ने महिलाहरु बिहानै देखि लाइनबद्ध छन् । पशुपति मन्दिरमा सुरषा व्यावस्था कडा पारिएको छ । आज हरितालिका (तीज) पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदैछ ।
भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ । हेटौंडासंगै मकवानपुरका दश वटै स्थानीय तहका शिब मन्दिरहरुमा पनि तिजको निकै रौनकता बढेको छ । तीजको अवसरमा धेरैजसो मन्दिरमा भीड लागेको छ । मकवानपुरका मन्दिरहरुमा भीड बढेसंगै कोरोनाको जोखिम बढेको छ । मानिकसको धेरै भीड हुँदा कोरोनाको जोखिम बढेको स्वास्थ्यकर्मीहरु वताउँछन् ।
हिजो दर खाएपछि औपचारिक रुपमा सुरु भएको तीज पर्व पर्सि ऋषि पञ्चमीसम्म मनाइन्छ । तृतीयाका दिन हरितालिका व्रत, चौथीका दिन, गणेश भगवान्को पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धतीसहित सप्तऋषिको पूजा गरी तीज समापन हुन्छ । यसवर्ष कोरोना संक्रमण कम हुँदै गएको र निषेधाज्ञा पनि हटेको कारण पोहोरको तुलनामा तीजको रमझम धेरै छ । तर जोखिम कायमै रहेकाले स्वास्थ्य मापदण्ड पालना गर्न विज्ञले आग्रह गरेका छन् । सकेसम्म घरमै मनाउन र भौतिक दूरी कायम गर्न उनीहरुको आग्रह छ ।