अजोड इन्स्योरेन्सको शाखा हेटौँडामा

हेटौँडा / अजोड इन्स्योरेन्स लिमिटेडको ३० औँ शाखा हेटौँडामा स्थापना गरिएको छ । हेटौँडा शाखाको आइतबार प्रदेश ३ का आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुङ्गेलले उद्घाटन गर्दै प्रजातन्त्र प्राप्तिपछि बीमा कम्पनी लगानी सुरक्षाका लागि विश्वास सिर्जनगर्ने माध्यम बनेको बताउनुभयो ।
उहाँले उत्पादन नभएसम्म समाजवादमा पुग्न नसक्ने भन्दै हाम्रो समाजको जस्तै प्रशासनिक संरचना र काम गर्नेको मानसिकता रहेको छ भन्नुभयो । सरकार औद्योगिकीकरणका लागि आवश्यक सुविधा दिन तयार रहेको बताउनुभयो । कार्यक्रममा प्रदेश ३ का प्रदेश मामिला समितिका सभापति माधवप्रसाद पौडेलले सरकारले उद्योगीका लागि लगानीमैत्री वातावरण निर्माण गर्न लागेको बताउनुभयो ।
कम्पनी नायव प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र थापाले कार्यक्रममा कम्पनीले ३५ हजार बीमालेख जारी गरेको भन्दै कम्पनीको कुल लगानी ८० करोड रुपियाँ पुगेको जानकारी दिनुभयो । कम्पनीका हेटौँडा शाखाका प्रबन्धक बद्रीनाथ शर्माले कम्पनीले वैशाख १ गतेबाट ग्राहकहरुका लागि ३६५ दिन नै बीमा सेवा उपलब्ध गराउन थालेको बताउँदै छिटो छरितो र विश्वसनीय सेवा प्रदान गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।
कम्पनीका सञ्चालक राजेन्द्रप्रसाद कायस्थको अध्यक्षतामा भएको कार्यक्रममा कम्पनीका संस्थापक मधुवनप्रसाद पौडेल र नेपाल औद्योगिक क्षेत्र उद्योग महासंघका निवर्तमान अध्यक्ष माधव अधिकारीले मुलुक नियन्त्रित अर्थतन्त्रबाट खुला अर्थतन्त्रमा गएपछि प्रतिस्पर्धा बढेको भन्दै बीमाले प्रदान गर्ने सेवाको दायरा बढाउनु पर्नेमा जोड दिनुभयो ।