टेलिकमको उपकरण जडान नहुँदा समस्या, विद्यार्थीले लिन पाएनन् अनलाइन कक्षा

जनपत्र
१९ भाद्र २०७८, शनिबार १८:००

खोटाङ – खोटाङको रावाबेँसी गाउँपालिका–२ खार्पा र रावाबेँसी गाउँपालिका–५ दुबेकोलमा रहेकाे नेपाल टेलिकमको टावरमा उपकरण जडानमा ढिलाई हुँदा सेवाग्राही मारमा परेका छन् ।

खार्पा र दुबेकोलमा नेपाल टेलीकमको टावर ठडिएको तीन/चार वर्ष बिते पनि आवश्यक उपकरण जडानमा ढिलाइ हुँदा सेवाग्राही मारमा परेका हुन् । खार्पामा २०७४ सालमा र दुबेकोलमा २०७६ सालमै टावर ठडिएको भए पनि टेलिकमले आवश्यक उपकरण जडानमा ढिलासुस्ती गरेको रावाबेँसी गाउँपालिकाका अध्यक्ष लिलानाथ निरौलाले बताउनुभयो ।

दुबेकोलको टावर भने गाउँपालिकाको आग्रहमा टेलिकमले निर्माण सुरु गरेको थियो । टेलिकमकै आग्रहमा दुबै टावरसम्म सडक तथा विद्युत विस्तार गरिदिए पनि आवश्यक उपकरण जडान नगर्दा टावरले काम नगरेको गाउँपालिकाले जनाएको छ ।

खार्पा र दुबेकोलको टावरको काममा ढिलासुस्ती हुँदा गाउँपालिकाको केन्द्र हरम्टारमा समेत भनेको बेला फोन नलाग्ने समस्या छ । विशेषगरी गाउँपालिकाको तल्लो क्षेत्रमा फोन नलाग्ने समस्याले स्थानीय आजित छन् । राम्ररी फोन नचल्ने समस्यकै कारण कोभिड–१९ को महामारीका समयमा अनलाईन कक्षा सञ्चालन गर्न नसकिएको गाउँपालिकाका शिक्षा शाखा संयोजक तिर्थराज दाहाल (राजु)ले बताउनुभयो ।

टावर बने पनि कोराेनाको महामारीका कारण विदेशबाट रेडियो इक्विपमेन्ट ल्याउन ढिलाइ भएकाले सेवा सुरु गर्न ढिलाइ भएको नेपाल टेलिकम ओखलढुंगाका प्रमुख दिनेशचन्द्र पन्थीले बताउनुभयो ।

यस्तै, हुमापोखरीमा रहेकाे नेपाल टेलीकमको टावरमा समस्या आउँदा जन्तेढुंगा गाउँपालिकामा दुई हप्तादेखि टेलिफोन सेवामा समस्या आएको छ ।  टावरमा विद्युत आपुर्ति नहुँदा फोन सेवामा खराबी आएको हो । विद्युत् नभएको समयका लागि राखिएको सोलारले समेत काम गर्न छाडेकाले फोनमा समस्या निम्तिएको टेलिकमले जनाएको छ । टेलिकम टावरमा विस्तार गरिएको विद्युतको ट्रान्सफर्मर बिग्रिएकाले समस्या आएको नेपाल टेलिकम ओखलढुंगाका प्रमुख पन्थीले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*