नेपाल–भारत रेल खरीद सम्झौता : चार महीनाभित्र रेल आइसक्ने

जनपत्र
२९ बैशाख २०७६, आईतवार ०७:३३

काठमाडौं । आगामी दशैंभित्र दुइटा नयाँ रेल नेपालमा गुड्न थाल्ने भएका छन् । पहिलो रेल बढीमा चार महीनाभित्र र दोस्रो रेल त्यसलगत्तै नेपाल आउने र दुवै रेल दशैंसम्ममा चल्न थाल्ने रेल विभागका महानिर्देशक बलराम मिश्रले जानकारी दिएका हुन् । नेपाल र भारतबीच शुक्रवार रेल खरीद सम्बन्धी सम्झौता भएको छ । नेपालका तर्फबाट महानिर्देशक मिश्र र भारतको सरकारी कम्पनी कोंकण रेलवे कर्पोरेशनका मुख्य प्रबन्ध निर्देशक सञ्जय गुप्ताले रेल खरीद सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । रेल विभागका अनुसार नेपाल आउने रेलका इन्जिन र डिब्बा तमिलनाडुको चेन्नईस्थित इन्टिग्रेटेड कोच कारखानामा बन्नेछन् । तीनदेखि चार महीनाभित्र नेपाललाई पहिलो रेल हस्तान्तरण गरिनेछ । पहिलो रेल आएको एक महीनाभित्र भारतले दोस्रो रेल पनि नेपाललाई बुझाउनेछ । दुवै रेल ५÷५ सय जना यात्रु क्षमताका हुनेछन् । हरेकमा एयर कन्डिशन्ड सहित पाँचओटा डिब्बा रहनेछन् । ‘प्राप्त भएलगत्तै भारतीय प्राविधिक टोलीले पहिलो रेल सञ्चालनमा ल्याउनेछ । आगामी दशैंभित्र दुवै रेल सञ्चालनमा आइसक्नेछन्,’ मिश्रले भने ।

दुवै रेल शुरूमा भारतको जयनगरदेखि धनुषाको कुर्थासम्म ३४ किलोमीटर रेलमार्गमा सञ्चालन गरिनेछन् । कुर्थासम्म लिक बिछ्याउने लगायत सबै काम सकिएको छ । बाँकी खण्ड निर्माणका लागि काम अगाडि बढाइएको विभागका प्रवक्ता तथा सिनियर डिभिजनल इन्जिनीयर अमन चित्रकारले बताए । उनका अनुसार, रेल चलाउन तत्काललाई भारतीय प्राविधिकको सहयोग लिइए पनि दुई वर्षभित्र नेपाली प्राविधिक उत्पादन भइसक्नेछन् ।

गत चैत ७ मा सरकारले कोन्कन रेलवे कर्पोरेशनसँग दुई थान रेल खरीद गर्न विभागलाई अनुमति दिएको थियो । सरकारले त्यसका लागि करसहित रू. ८४ करोड ८५ लाख ९५ हजार छुट्याएको थियो ।
काशीराम बजगाईंले अभियान डट कमको लागि लेख्नु भएको समाचार हामिले साभार गरेका छौ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*