हेटौंडामा वन मासेर बहुप्राविधिक महाविद्यालय

५५ करोड रुपैयाँ लागतमा निर्माण सम्पन्न गर्ने योजनामो ठेक्का पाएको भारतीय कम्पनीले महाविद्यालय निर्माणका लागि जेठ १० गते शिलान्यास गर्ने भएको छ । विद्यालय निर्माणका लागि सामुदायिक वनका २ हजार ३ सय ५१ रुख काटिएका छन्
जनपत्र
२८ बैशाख २०७६, शनिबार १३:१४

हेटौंडा / हेटौंडा उपमहानगरपालिका–७ मा सामुदायिक वन मासेर नेपाल भारत मैत्री बहुप्राविधिक महाविद्यालय निर्माण गरिने भएको छ  । रुख कटानको काम सकिए पनि घाटगद्दी गर्न भने बाँकी रहेको छ  ।चैत महिनाको तेस्रो सातादेखि रूखको कटान सुरु भएको थियो । ‘करिब रूख काट्ने काम सकिएको छ,’ महाविद्यालयका प्रशासन प्रमुख विष्णु घिमिरेले भने, ‘अब टुक्राएर घाटगद्दी गर्नमात्र बाँकी छ,’ घाटगद्दी गरेपछि काठ डिभिजन वन कार्यालय हेटौंडालाई बुझाउँछौं ।’

चित्रपानी सामुदायिक वनले उक्त महाविद्यालय निर्माण गर्न एक दशक अघि नै साढे २६ बिघा जमिन उपलब्ध गराएको थियो । उक्त सामुदायिक वनमा रहेका २ हजार ३ सय ५१ रूखको कटान ठेकदारमार्फत गरिएको हो । ‘एक महिना भित्रमा रूखको कटान गरिसक्ने सम्झौता थियो,’ महाविद्यालयका प्रशासन प्रमुख घिमिरेले भने, ‘समयमा नै रूख कटान सकियो ।’ कटान भएका मध्ये करिब १ हजार ९ सय सल्लाका रूख छन भने ४ सय जति अन्य जातका छन् ।महाविद्यालयको शिलान्यास कार्यक्रम जेठ १० गते गर्ने योजना रहेको छ ।

निर्माण कम्पनी महाविद्यालयको शिलान्यास गर्न हतारिएको छ । विद्यालय भारत सरकारको सहयोगमा निर्माण हुन लागेको हो । नेपाल र भारतको राष्ट्रपतिस्तरमा २०६६ सालमा हेटौंडा उपमहानगरपालिका ७ मा नेपाल भारत बहुप्राविधिक महाविद्यालय स्थापना गर्ने सम्झौता भएको थियो । सम्झौता अनुसार हेटौंडामा जग्गा उपलब्ध गराएर तारबार लगाउने काम पनि गरियो तर भारत सरकारको ढिलासुस्तीका कारण निर्माण सुरु हुन सकेको थिएन ।

भरत सरकारका तर्फबाट महाविद्यालयको निर्माणका लागि टेन्डर आहान गरी निर्माण कम्पनी समेत छनोट भइसकेको छ । ५५ करोडको लागतमा भारतीय टिसिआईएन कम्पनीले दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी ठेक्का सकारेको छ । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले महाविद्यालयको निर्माण सुरु गर्न सम्बन्धित निकायलाई दबाब दिँदै आएका थिए ।

मुख्यमन्त्री पौडेलले निर्माणमा चासो राखेकाले पनि काम छिटो सुरु हुन लागेको प्रमुख घिमिरेले बताए । मुख्यमन्त्री पौडेल विगतमा महाविद्यालयका अध्यक्षसमेत थिए । उनले महाविद्यालय निर्माणस्थलको पटकरपटक अवलोकन गर्नुका साथै डिभिजन वन कार्यालयलाई रूख कटानका लागि ताकेतासमेत लगाएका थिए ।

खानेपानी र विद्युतको काम नेपाल सरकारको जिम्मेवारीमा छ । विगतमा नेपाल सरकारले समयमा नै जग्गा उपलब्ध गराउन सकेन र ईआईए पनि समयमा गर्न नसकेकाले पनि महाविद्यालयको निर्माण ढिला हुन गएको हो । भारत सरकारले अहिले चासोका रूपमा लिएकाले महाविद्यालयको निर्माण सुरु हुन लागेको मुख्यमन्त्री पौडेलले बताए । साढे २६ बिघा जमिनमा अध्ययन गर्ने भवन, छात्रावास, खेलकुद मैदान, व्यावसायिक तालिम भवनलगायत संरचना निर्माण हुने छन ।

पहिलो चरणमा उक्त विद्यालयमा डिप्लोमा तहको कम्प्युटर अर्थात आइटी, मेकानिकल र इलेक्ट्रीको विषयको पढाई हुनेछ । यो महाविद्यालयले मुलुकलाई आवश्यक पर्ने जनशक्ति उत्पादन गर्ने शिक्षालय प्रशासन प्रमुख घिमिरले बताए । महाविद्यालय स्थापना हुने स्थल हेटौंडा बजारबाट ६ किलोमिटर पूर्व पर्छ ।

आजको कान्तिपुर दैनिकमा प्रताप बिष्टले समाचार लेखेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*