मकवानपुरमा निषेधाज्ञाः शैक्षिक संस्था मात्र बन्द, अरु कुनैपनि क्षेत्रका भीड नियन्त्रण भएन
हेटौंडा । मकवानपुर जिल्लामा निषेधाज्ञा लगाइएको चार महिना पुगिसकेको छ । निषेधाज्ञाका क्रममा स्थानीय प्रशासनले शैक्षिक संस्था मात्र बन्द गर्न सकेको छ । निषेधामा अरु कुनैपनि खालका भीड नियन्त्रण गर्ने भनेपनि त्यसलाई नियन्त्रण गर्न सकिएको छैन ।
कोभीड–१९ को संक्रमण, रोकथाम नियन्त्रण र व्यवास्थापन समितिका संयोजक समेत रहनु भएका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले निषेधाज्ञा थप गर्दै लैजानु भएको छ । तर, त्यसको कार्यान्वयन शैक्षिक संस्थाहरु बन्द हुने बाहेक केही हुन सकेको छैन । अब हेटौंडाका अत्याबस्यक भन्दा बाहेकका पसलहरु रातको समयमा मात्र बन्द हुने छन् । बिहान ६ बजे देखि साँझ ६ बजे सम्म खाद्यय पदार्थ र गैर खाद्यय पदार्थका पसलहरु खोल्न पाइने भनिएको छ ।
मकवानपुरका बिद्यालय तथा क्याम्पसहरु बिगत चार महिना देखि बन्द हुँदा यहाँका एक लाख भन्दा धेरै बिद्यार्थीहरु पढ्नबाट बन्चित भएका छन् । केहीले अनलाइन कक्षा लिन पाएपनि धेरैले अनलाइन कक्षामा पहुँच नहुँदा समस्या भएको सामुदायिक बिद्यालयका शिक्षकहरु वताउँछन् ।
निषेधाज्ञामा कुनैपनि भीड गर्न नदिने भनेपनि राजनीतिक दलहरुका धेरै कार्यक्रम एक महिना अघिदेखि सञ्चालन भइरहेका छन् । त्यसमा सयौको सख्यामा भीड हुने गरेको छ । हेटौंडा बजारका पसलहरुमा पनि त्यतीकै भीड छ । त्यसलाई स्थानीय प्रशासनले नियन्त्रण गर्न सकेको छैन । हेटौंडाका ठुला होटल, पाटी प्यालेस, प्रशासनले बन्द भनेपनि खुल्मखुल्ला रुपमा सञ्चालन भइरहेका छन् । सवारीका साधनमा त्यतीकै भीड हुने गरेको छ ।