हेटौंडाको मुख्यराजमार्गको सडक फराकिलो वनाउनुपर्छ– मेयर महत
हेटौंडा । हेटौंडा उपमहानगरपालिकाका मेयर हरि बहादुर महतले पुर्वपस्चिम राजमार्ग र त्रिभुवनराजपथको सडक विस्तार गर्नका लागि संघीय सरकारसमक्ष अनुरोध गर्नु भएको छ । आज उपमहानगरपालिका कार्यालयमा पत्रकार सम्मेलन गर्दै उहाँले पहिलेनै घरका संरचना निर्माण गर्दा सडकलाई चाहिएको समयमा बिना मुहाव्जा भत्काउछु भनेर सहिछाप गरेकाले साघुरो सडक विस्तार गर्नुपर्ने वताउनुभयो ।
राजमार्गको बिचबाट दायाँ, बायाँ २५ मिटर सडक विस्तार गर्नका लागि उपमहानगरपालिकाको कार्यपालिका बैठक र नगरसभाले समेत निर्णय गरिसकेर संघीय सरकारलाई अनुरोध गर्दा पनि सुनुवाइ नगरेको मेयर महतले वताउनुभयो । मुख्य राजमार्गको राष्ट्रिय राजमार्गको दायां बायांका प्रभावित घरहरु भत्कने हल्लाले लामो समयदेखि मुख्यबजार क्षेत्रमा घरजग्गा विक्रि हुन नसकेको छैनउहाँले वताउनुभयो ।
उहाँले भन्नुभयो–‘नयां संरचना निर्माणको क्रम रोकिंदा दशकौ अघि बनेका जीर्ण भवनहरुले राजमार्ग सडकको दायाबायाका भाग ओगटेका छन । भवन तथा संरचना बैंकले धितो राख्न मान्दैन । घर मर्मत र थप निर्माण गर्न अनुमति पाईन्न । प्रदेश राजधानी रहेको हेटौंडा बजारको मुख्य दृश्य कुरुप बन्न पुगेको छ । यसले जुन गतिमा हेटौंडाको आर्थिक विकास हुनु पर्ने हो सो हुन सकेको छैन ।’
हेटौंडा बजारको मुख्य सडक, सडक ऐन २०३१ अनुसार ५० मिटर सडक चौडा हुंदा यस ठाउको आर्थिक समृद्धिको ढोका खुल्नुका साथै अर्थतन्त्रमा समेत सकारात्मक परिवर्तन देख्न सकिने उहाँले वताउनुभयो । संघीय सरकारले सडक सीमा मिचेर निर्माण गरेको घर टहराहरुको संरचना भत्काउन शुरु गरेमा हेटौंडा उपमहानगरपालिकाले बजार र सडक आसपासको क्षेत्रहरुको सरसफाई र सुन्दरताको लागि नगरबासीहरुसंग समन्वय गरेर काम गर्ने प्रतिवद्धता समेत मेयर महतले गर्नुभयो ।
यस उपमहानगपालिकाले राष्ट्रिय राजमार्गको अवधारणा र मापदण्डबमोजिम सडकको मुख्य भागबाट दायां बायां २५–२५ मिटर सडक चौडा गर्न प्रत्यक्ष परोक्ष रुपमा आवश्यक प्रयास गर्दै आईरहेको नै छ । जनप्रतिनिधि विहिनताको क्रमलाई तोड्दै २०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचन पश्चात बर्तमान नेतृत्व यस उपमहानगरपालिकामा निर्वाचित भई आएपछि आयोजना गरिएको पहिलो नगर सभाले नै सडकको मुख्य भागबाट दायां बायां २५–२५ मिटर सडक चौडा गरी सडक फराकिलो बनाउने प्रस्ताव पारित गरी नेपाल सरकार समक्ष अनुरोध गरेको भएपनि त्यसलाई कुनै सुनुवाइ नगरेको मेयर महतले वताउनुभयो ।
यस सन्दर्भमा सम्बन्धित मन्त्रालय र निकायहरुमा पत्राचार गर्ने कार्य पनि उपमहानगरपालिकाले पटक पटक गरेको छ । भर्खरै सम्पन्न नवौं नगर सभाको बैठकले राष्ट्रिय राजमार्गको दांयाबांया २५–२५ मिटर चौडा गर्न सम्बन्धित पक्षको ध्यानाकर्षण गराउने निर्णय गरेको व्यहोरा यहांहरुसमक्ष जानकारी गराउन चाहगरेको उहाँले वताउनुभयो ।
हालै हेटौंडा स्थित राजमार्ग विस्तार गर्दा घर जग्गाको क्षतिपूर्ति नदिई घर नभत्काउन नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय समेतलाई विपक्षी बनाई सम्मानित सर्बोच्च अदालतमा निवेदक वडा नं. १० बस्ने देवीलाल श्रेष्ठ समेतले दायर गर्नु भएको रिट निवेदन नं. ०७३–१०७४ को परमादेश मुद्धामा सम्मानित सर्बोच्च अदालतको मिति २०७५/२/२ को फैसलाबाट रिट खारेज भएको सन्दर्भमा सडक विस्तारको क्रममा विगतमा देखिएको कानुनी अवरोध हटेको देखिएको सन्दर्भमा राजमार्ग सडक विस्तारको योजना कार्यान्वयनमा सहजता बढाएको उहाँले वताउनुभयो ।
विगतदेखि नै तदर्थ व्यवस्थाका रुपमा नगरबासीहरुको माग र स्थानीय दलीय सहमतिका आधारमा उपमहानगरपालिकाको निर्णयबाट राष्ट्रिय राजमार्गको दायाबाया घर निर्माण गर्दा सडक अधिकार र सेटव्याक गरी सडकको बीच केन्द्रबाट दायांबायां ३१ मिटर छाडी घर बनाउनु पर्नेमा सो नछाडी घर टहरा निर्माण गरेका नगरबासीहरुले पछि नेपाल सरकार र नगरपालिकालाई आवश्यकता पर्दा विना मुआब्जा आफ्नै श्रोतले नगरपालिकाको नियमानुसार क्लियर गरी दिनेछु भनि कवुलियतनामा गरि दिएको अवस्था सबैमा उहाँले जानकारी गराउनुभयो ।
बिक्रम सम्मत २०१३ सालमा मित्रराष्ट्र भारत र नेपालको राजधानीलाई जोड्ने गरी व्यापारिक मार्गको रुपमा त्रिभुवन हाईवेको निर्माण प्रारम्भ पश्चात समयक्रममा यस नगर भएर जाने पूर्वपश्चिम राजमार्ग लगायत अन्य राजमार्ग सडकहरुको निर्माण भएको हो । विगतदेखि सडक आसपासमा विकास भएको हेटौंडा बजार आजको तिब्र शहरीकरण हुदै गरेको एक महत्वपूर्ण नगरको हैसियतमा आइपुग्दाको समयमा जनसंख्या बृद्धि, यातायातका साधनहरुको बृद्धि लगायतका थुप्रै कारणले हेटौंडा बजारको मुख्य मार्गहरु अति नै सांघुरा र साना भएकोले यसलाई विस्तार गर्नुपर्ने आवस्यक्ता भएको मेयर महतले वताउनुभयो ।
सडक साघुरो हुँदा दुर्घटना दैनिक बढ्दो छ भने सडक सांघुरो भएको कारण सहज ढंगबाट आवागमन गर्न र बन्दव्यापार गर्न पनि कठिनाई हुंदै आईरहेको सर्वविदितै छ । नगरको आकर्षण तथा सुन्दरतालाई नै सांघुरा सडकले गिज्याएको भान हुने अवस्था रहेको छ । राष्ट्रियराजमार्यहरुको स्तरोन्नति गर्ने क्रममा नेपाल सरकारले पूर्व पश्चिम राजमार्गलाई एसियन हाईवेको रुपमा विकास गर्ने लक्ष्य राखेको र सोही अनुरुप मुलुकका अन्य शहरहरुमा सडक विस्तार र निर्माणको कार्य भै आकर्षक र चौडा सडक निर्माण भइसक्दा यस नगरको सडक उही अवस्थामा रहनु हामी सबै नगरबासीहरुलाई चिन्ता र बेखुशीको विषय भएको उहाँले वताउनुभयो ।