एमाले स्थायी कमिटी बैठक चल्दै, माधव पक्ष छाडेका र पूर्वमाओवादीका नेता पनि सहभागी
काठमाण्डाै – नेकपा एमालेको स्थायी कमिटीको बैठक अहिले चलिरहेको छ । तुलसीलाल स्मृति भवन ललितपुरमा बसिरहेको बैठकमा एकता कार्यदलमा भएको १० बुँदे सहमति कार्यान्वयनका विषयमा छलफल भइरहेको छ ।
अध्यक्ष केपी शर्मा ओलीले १० बुँदे सहमति पालना गर्दै एमालेका सङ्गठन र नेताको जिम्मेवारी २०७५ सालको जेठ २ गतेकै अवस्थामा फर्काउने वाचा गरेपछि माधव नेपाल पक्षमा गएका स्थायी कमिटी सदस्यहरू पनि एमालेमै फर्किएका छन् ।
आजको बैठकमा युवराज ज्ञवाली, भीम रावल, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, घनश्याम भुसाल, योगेश भट्टराई लगायतका नेताहरू पनि सहभागी छन् । यस्तै माओवादी छाडेर एमाले प्रवेश गरेका रामबहादुर थापा, लेखराज भट्ट, मणि थापा र टोपबहादुर रायमाझी पनि बैठकमा गएका छन् ।
बैठकले एमालेका सङ्गठन र नेताको जिम्मेवारी २०७५ को जेठ २ गतेकै अवस्थामा फर्काउने मोडालिटी तय गर्ने सम्भावना छ ।