‘धन्न मैले काबुल विमानस्थलको त्यो दृश्य देख्न मात्रै पर्‍यो, भोग्न परेन’

जनपत्र
२ भाद्र २०७८, बुधबार १५:२८

काठमाण्डौ – चितवनका इन्द्रबहादुर मगरले आफ्नो देशको माटोमा टेकेपछि आफूले आफूलाई एक पटक भाग्यमानी ठान्नुभयो ।

अफगानिस्तानबाट कतार र कुवेत हुँदै त्रिभुवन विमानस्थलमा ओर्लिएपछि उहाँले सामाजिक सञ्जालमा काबुल विमानस्थलमा जहाज चढ्न तछाड्मछाड् गर्दै मानिसहरू कुदेको र पखेटामा समेत मानिसहरू चढेको  देख्नुभयो । त्यो दृश्य देख्दा इन्द्रबहादुरलाई लाग्यो ‘धन्न मैले यो दृश्य देख्न मात्रै पर्‍यो, भोग्न परेन ।’

इन्द्रबहादुर अफगानिस्तानमा रहेको अमेरिकी दूतावासमा सुरक्षा गार्डको रूपमा काम गर्नुहुन्थ्यो । इन्डियन आर्मीबाट अवकाश पाएपछि ८ महिनाअघि अफगानिस्तानको यात्रा तय भएको थियो ।

ड्युटीमै रहेका बेला तालिबानले काबुलभन्दा परको शहरहरूमा कब्जा गर्दै छन् रे भन्ने कुरा उहाँको पनि कानमा पर्‍यो । तालिबानले अन्य शहरहरू कब्जा गरेको खबर सुन्दा पनि काबुल सहरमा उनीहरू आइपुग्दैनन् भन्ने आत्मविश्वास कम्पनीले दिलाएको थियो ।

‘उनीहरू काबुल आइपुग्दैनन् भन्नेमा हामी ढुक्क थियौँ, त्यसैले सुरुमा त डराएनौँ, काबुललाई ग्रिन जोनमा राखेकाले निर्धक्क ड्युटी गरिरह्यौँ,’ इन्द्रबहादुरले सुनाउनुभयो ।

तर अवस्था सोचेभन्दा फरक हुँदै गयो । तालिबानले विभिन्न शहरहरू कब्जा गर्दै काबुल नजिकै आइपुगेको खबरहरू आयो । इन्द्रबहादुरको मनमा पनि चिसो पस्न थाल्यो । अब के होला, कति बेला आफू भएकै ठाउँमा तालिबानले हमला गर्ने पो हुन् कि ? ढुकढुकी बढ्न थाल्यो ।

सँगै काम गर्ने अन्य नेपाली साथी पनि थिए । सबै जनाको मनमा उही डर थियो । तर डराएर हुनेवाला केही थिएन । जे परि आउँछ त्यसलाई स्विकार्न तयार भए । जुनसुकै बेला पनि काबुल छाड्न पर्ने अवस्था आउने भन्दै कम्पनीले तयार रहन भनिसकेको थियो । इन्द्रबहादुर सहित उहाँका साथीहरू तयार अवस्थामा बसे ।

तर देशसम्मको यात्रा कस्तो होला भन्ने कुरा अनिश्चित थियो । परिवारमा जब अफगानिस्तानमा तालिबानले युद्ध सुरु गरेको खबर पुग्यो तब अर्को चिन्ता थपियो ।

‘सुरुमा त परिवारमा थाहा थिएन, तालिबानको हर्कत धेरै भएपछि खबरहरू फैलियो, अनि त थाहा पाइहाल्नुभएछ, सुरुमा त निकै आत्तिरहनुभएको थियो,’ इन्द्रबहादुर भन्नुहुन्छ,‘मैले परिवारलाई निरन्तर आफ्नो खबर भनिरहेको थिए, तर पनि डर त भइहाल्छ नै ।’

२२ वर्ष भारतीय सेनामा जागिर खाएर अमेरिकी दूतावासमा सुरक्षा गार्डको काम गर्न पुगेका इन्द्रबहादुरलाई आफ्नै सुरक्षा जसरी पनि गर्नु थियो ।

१४ अगष्टको राती नै अमेरिकी सेनाले इन्द्रबहादुरसहित उहाँको साथीहरूलाई विमानस्थल लाग्यो । काबुलबाट कतार पुर्‍यायो । कतारबाट कुवेत हुँदै हिजो सोमबार बिहान इन्द्रबहादुरसहित ११८ जना नेपालीले स्वदेशमा पाइला टेके ।

युद्ध भूमिबाट सकुशल आफ्नो मातृभूमिमा पाइला टेक्न पाउँदा इन्द्रबहादुर खुसी हुनुहुन्छ ।

तालिबानले विभिन्न अफगानिस्तानको विभिन्न ठाउँमा कब्जा गरेको खबर सुन्दै अफगानिस्तान छाडेका इन्द्रबहादुर कतार पुग्दा पुरै अफगानिस्तान तालिबानले कब्जा गरिसकेको घोषणा गरिसकेको थियो ।

कतारबाट इन्द्रबहादुरसहित सबै जना कुवेत गए । कुवेतबाट चार्डर्डजहाजमार्फत मंगलबार बिहान एक सय १८ जना नेपाली स्वदेश आइपुगे ।

विमानस्थलमा अफगानिस्तानबाट आएका उनीहरूलाई लिन आर्मीहरू तयार थिए । आर्मीले नै तोकेको होल्डिङ सेन्टरमा गए । आवश्यक प्रक्रिया गरे ।

कोरोना महामारीको समयमा फर्किएका कारण सबै प्रक्रिया पुरा गर्न समय लाग्यो । तर पनि इन्द्रबहादुरलाई समयले फेरि साथ थियो । स्वास्थ्यमा कुनै समस्या देखिएन ।

बुधबार दिउँसो १२ बजे उज्यालोसँग टेलिफोनमा कुरा गर्दा इन्द्रबहादुर आफ्नो घर जाने जहाज कुरिरहनुभएको थियो ।

अफगानिस्तानबाट स्वदेश फर्कँदाको खुसी विमानस्थलको प्रतीक्षालयमा बसेर उज्यालोसँग साट्दै गर्दा इन्द्रबहादुरलाई भरतपुर २२ मा रहेका आफ्नो परिवारलाई भेट्न आत्तुरी थियो । घरमा दुई बालबच्चा, श्रीमती र आमा बुवा इन्द्रबहादुरको प्रतीक्षामा थिए ।

इन्द्रबहादुर भन्नुहुन्छ,‘यति बेला मेरो दिमागमा खुसी मात्र छ, त्यहाँ अवस्था बिग्रँदा दुःख लागेको थियो, तर कुनै अप्ठेरो बिना नै सहज रुपमा स्वदेश फर्कंन पाइयो, अहिले म खुसी छु ।’

चिनजानका साथीले अफगानिस्तानमा काम र कमाइ राम्रो भएको सुनाएका थिए । कतिपय साथीहरू त्यही कार्यरत पनि थिएन । साथीहरू कै सरसल्लाहमा आर्मीबाट अवकाश पाएपछि इन्द्रबहादुर अफगानिस्तान पुग्नुभएको थियो ।

अवस्था सामान्य हुँदा कमाइ र सेवा सुविधा राम्रो थियो । मासिक एक लाख रुपैयाँभन्दा माथि थियो कमाइ । तर परदेशीको सपना कति बेला भङ्ग हुन्छ कसले पो देखेको हुन्छ र । भविष्यका सपना पुरा गर्न गएको देश नै एकाएक युद्ध भूमि बन्यो । सद्दे ज्यान नेपाल आइपुग्नु नै युद्ध जित्नु सरह भयो ।

आफ्नो देश फर्किएर घर पुग्ने जहाज चढ्नै लाग्दा इन्द्रबहादुरलाई अफगानिस्तानमा गैर कानुनी रूपमा काम गरिरहेका नेपालीको पनि सरकारले उद्धार गरिदिए हुन्थ्यो भन्ने लागेको छ । संस्था वा विभिन्न मिसनहरूमा काम गर्ने नेपालीहरूलाई आफूलाई जस्तै सम्बन्धित कम्पनीले नै उद्धार गर्छ भन्ने लाग्छ उहाँलाई ।

भन्नुहुन्छ,‘कतिपय बाहिर गैर कानुनी रूपमा काम गर्ने पनि छन्, उनीहरूलाई सरकारले जतिसक्दो छिटो उद्धार गर्नुपर्छ, हामीहरू जस्तालाई त सरकारले केही नगरे पनि कम्पनीले नै नेपाल ल्याइदिन्छ, तर गैर कानुनी रूपमा काम गर्नेको त्यहाँ कोही पनि छैन ।’

अफगानिस्तानबाट बम र बारुद छल्दै स्वदेश आइपुगेका इन्द्रबहादुर यति बेलासम्म त चितवनमा रहेको आफ्नो घरमा पुगिसकेका छन् । तर अफगानिस्तानमा रहेका थुप्रै नेपाली अहिले पनि इन्द्रबहादुर जस्तै सकुशल घर आइपुग्ने दिनको प्रतीक्षा गरिरहेका छन् ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*