हेटौंडाको डाटा सेन्टरबाट काम सुरु, सिंहदरबारको ब्याकअप

हेटौंडा / हेटौंडाको मुटुमा रहेको हुप्राचौरमा सुन्दर टलक्क टल्कने डाटा सेन्टर, डाटा सेन्टरको भित्र पस्ने बितीकै झनै सुन्दर कोठामा पस्ने बितीकै यो गर्मीमा एसीको चिसो, कार्ड र अनुहारका माध्यमले खुल्ने बिभीन्न कोठाका ढोका, चिल्लो टल्कने भईमा चिफ्लीएर लडिएलाकी भन्ने डर । डाटा सेन्टरको भवन जती सुन्दर र सफा छ । त्यतीनै महत्वपुर्ण काम पनि हुँदै छ । काठमाण्डौको सिंहदरबारमा रहेको केन्द्रीय डाटा सेन्टरको ब्याकअपका रूपमा हेटौँडाको हुप्रचौरमा डाटा सेन्टर निर्माण भएको हो । डाटा सेन्टर निर्माण भईसकेकाले अब यही बैशाख ३१ गते सञ्चार तथा सूचना प्रबिधि मन्त्री गोकुल बाँस्कोटाले उध्घाटन् गर्ने कार्यक्रम तय भएको छ । सिहदरबारको डाटा राखेर परिक्षण समेत गरिसकिएको छ । अहिले चार जना कर्मचारीले काम पनि सुरु गरिसकेका छन् ।
कोरिया अन्तर्रा्ष्ट्रिय सहयोग नियोग (कोइका)को ३७ करोड रुपैयाँ लागतमा ठेक्का मार्फत सेन्टर निर्माणको काम सकिएको हो । अहिले चार जना मात्र कर्मचारी कार्यरत भएपनि १९ जना कम्युटर इन्जिनियर लगायतका प्राबिधिक कर्मचारी छनौटको काम सकिएको र केहीदिनमा काम छनौट भएका कर्मचारीले काम सुरु गर्ने राष्ट्रिय सूचना प्रबिधि केन्द्रका कार्यकारी निर्देशक सुनिल पौडेलले बताउनुभयो । डाटा सेन्टर निर्माण गरेर कोरीयाले हस्तान्तरण गरिसकेको र ब्याकपका रुपमा डाटा राख्नका लागि उपयुक्त भइसकेकाले उध्घाटन्को काम गरिने उहाँले बताउनुभयो । निर्माण गर्नका लागि पहिलेनै तयार भएपनि २०७२ सालको भुकम्पपछी यसको कामलाई बढी प्राथमिकताका साथ काम भएको पौडेलले बताउनुभयो ।
सरकारी तथा निजी क्षेत्रका महत्वपूर्ण सूचनाको सुरक्षा र तिनीहरूको व्यावसायिक विवरणमा सेन्टरले सहयोग गर्ने उहाँको भनाई छ । हेटौँडाको हुप्रचौरस्थित पहिलेको नगर विकास समितिको १० कठ्ठा जग्गामा डाटा सेन्टर निर्माण भएको हो । सेन्टर निर्माणका लागि नेपाल आदर्श कम्पनीलाई जिम्मा दिइएको थियो । काम सुरु गरेको १८ महिनामा भवन निर्माण सम्पन्न भएको हो । डाटा सेन्टरको भवन निर्माण निर्धा्रित समयमै सकिएको कम्पनीका इन्जिनियर कृष्णगोविन्द खामलीले बताउनुभयो । हेटौँडामा निर्माण भएको डाटा सेन्टरले सरकारी तथा गैरसरकारी सूचनाको संग्रहालयको रूपमा काम गर्ने गरी कोरियाली सहयोग नियोगसँग अर्थ मन्त्रालयले सम्झौता गरेको थियो । तीन वर्षअघि नै प्रारम्भिक सम्झौता भए पनि कोइकाको नेतृत्व परिवर्तनले अन्तिम सम्झौतामा केही ढिला भएको हो ।
कोइकाले नै सबै निर्माण पूरा गरेर नेपाल सरकारलाई हस्तान्तरण गरेको छ । सेन्टरको सम्पूर्ण संरचना निर्माणमा करिब ३७ करोड रुपैयाँ लागेको हो । २० करोड रुपैयाँमा भवन निर्माणमा र बाँकी प्राविधिक पूर्वाधारका लागि लगानी गर्ने सम्झौता भएको थियो । त्यही अनुसार काम भएको हो । त्यतीबेला नेपालका तर्फबाट केन्द्रका कार्यकारी निर्देशक अनुप बास्कोटा र दातृ निकाय कोइकाका प्रमुख योङ आ गोले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । सम्झौतापत्रमा इन्जिनियरहरूका लागि तालिमको व्यवस्था गरिने, संरचना निर्माणका लागि जग्गा नेपाल सरकारले उपलब्ध गराउने तथा जनशक्ति र कार्यालय राख्ने व्यवस्था मिलाउने लगायत छ । सिंहदरबारस्थित डाटा सेन्टरको ब्याकअप नहुँदा राष्ट्रिय सूचना प्रविधि केन्द्रअन्तर्गतको सरकारी एकीकृत डाटा केन्द्र प्रभावकारी ढंगले सञ्चालनमा आउन नसकेको प्राविधिकहरूले बताएका छन् । डाटा सेन्टरलाई प्रभावकारी सञ्चालनका निम्ति ब्याकअप सेन्टर आवश्यक पर्ने भएपछि कोरियाको सहयोगमा हेटौँडामा डाटा सेन्टर निर्माण गरेको हो ।
मुलुकको महत्वपूर्ण डाटा जस्तोसुकै प्राकृतिक प्रकोप, मानवीय त्रुटिमा समेत नष्ट नहोस् भनेर रिकभरी साइट बनाएको हो । यस्ता साइटहरू मुख्य डाटा सेन्टर स्थापनाका लागि केन्द्रबाट टाढा, फरक भौगोलिक वातावरण, पूर्वाधारको सुविधा पुगेको स्थान आवश्यक पर्ने भएकाले हेटौँडालाई रोजिएको हो । डाटा सेन्टरमा राष्ट्रिय परिचयपत्र, मेसिन रिडेबल पासपोर्ट, ईप्रोक्युरमेन्ट, विद्युतीय हस्ताक्षर, ईकस्टमलगायत ईसेवा सञ्चालन हुने छन् । यो सिंहदरबारको डाटा सेन्टरको ब्याकअपका रूपमा रहने छ । सिंहदरबारको डाटा सेन्टर पनि कोरियाकै सहयोगमा निर्माण गरिएको हो ।