मनहरी गाउँपालिका र हेटौंडा आँखा अस्पतालबीच आँखा केन्द्र सञ्चालन गर्न सम्झौता

जनपत्र
१ भाद्र २०७८, मंगलवार ०७:०५

हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिकामा नियमित रुपमा सामुदायिक आँखा केन्द्र सञ्चालन हुने भएको छ । मनहरी गाउँपालिका र हेटौंडा सामुदायिक आँखा अस्पतालबीच मनहरीमा नियमित सामुदायिक आँखा केन्द्र सञ्चालन गर्ने सम्झौता भएको हो ।

यसअघि हेटौंडा सामुदायिक आँखा अस्पतालले नेपाल रेडक्रस सोसाइटी मनहरी उपशाखाको समन्वयमा साप्ताहिक रुपमा सामुदायिक आँखा केन्द्र सञ्चालन गर्दै आएको थियो । सोही आँखा केन्द्रलाई स्तरोन्नती गरी दैनिक रुपमा आँखा केन्द्र संचालनमा ल्याउन लागिएको जानकारी दिइएको छ । आँखा केन्द्र सञ्चालनका लागि मनहरी गाउँपालिकाबाट दुईजना कर्मचारीको खर्च सहित अन्य व्यवस्थापन खर्च मनहरी गाउँपालिकाले उपलव्ध गराउने गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले बताए । गाउँपालिका बासिन्दाको सहजताको लागि यो निर्णय गरिएको उनको भनाई छ ।

अस्पतालका प्रमुख डा. सुनिल थकालीले हेटौंडा सामुदायिक आँखा अस्पतालबाट स्थापना भएको पहिलो सामुदायिक आँखा केन्द्र दैनिक रुपमा सञ्चलान हुँदा यस क्षेत्रका विरामीहरुलाई थप लाभ हुने विश्वास व्यक्त गरे । यसका लागि प्राविधिक सहयोग आँखा अस्पतालबाट गर्ने उनले बताए । नेपाल आँखा कार्यक्रमका कार्यकारीणी सदस्य सिद्धिलाल श्रेष्ठले सामुदायिक आँखा केन्द्र ग्रामीण क्षेत्रको विकासमा निकै महत्वपूर्ण हुने भएकोले नेपाल आँखा कार्यक्रम तिलगंगा आँखा कार्यक्रमबाट विभिन्न क्षेत्रसंग समन्वय गर्दै सामुदायिक आँखा केन्द्र स्थापना गर्दै आएको बताए । हेटौंडा सामुदायिक आँखा अस्पतालका बरिष्ठ प्रशासकीय अधिकृत सुधीर श्रेष्ठले आगामी ३ महिनामा मनहरीमा दैनिक रुपमा आँखा जाँच, चश्मा मर्मत, रिफरल सेवा सहितको सामुदायिक आँखा केन्द्र सञ्चालन गर्ने योजना रहेको जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*