लर्ड्समा भारतको ऐतिहासिक जीत, इङ्ल्याण्ड १५१ रनले पराजित

जनपत्र
१ भाद्र २०७८, मंगलवार ०६:२३

भारतले इङ्ल्याण्डविरुद्धको टेस्ट श्रृंखलाको दोस्रो खेल १ सय ५१ रनले जितेको छ । बेलायतको लण्डनस्थित लर्ड्स मैदानमा खेलिएको यो खेलमा दुबै टिमका बीच पाँच दिनसम्म रोमाञ्चक प्रतिस्पर्धा भयो । खेलको पाँचौं तथा अन्तिम दिन सोमबार इङ्ल्याण्डमाथि भारत हावी भयो र पाँच खेलको श्रृंखलामा १–० को अग्रता लिन सफल भयो ।

भारतले अन्तिम दिन इङ्ल्याण्डलाई २ सय ७२ रनको लक्ष्य दिएको थियो । जवाफमा इङ्ल्याण्डको टीम १ सय २० रनमै समेटियो । भारतको लर्डस्मा यो तेस्रो जीत हो । भारतले सात वर्षपछि यो मैदानमा खेल जितेको हो । यसअघि २०१४ को भ्रमणमा इङ्ल्याण्ड पराजित भएको थियो । भारतीय टीमले लर्ड्समा सन् १९८६ मा पहिलो जीत हासिल गरेको थियो ।

इङ्ल्याण्डले आफ्नो इनिङको प्रारम्भदेखि नै भारतले दिएको लक्ष्यलाई नभेट्ने संकेत दिएको थियो । इङ्ल्याण्डको सुरुवात अत्यन्त खराव रह्यो । दुबै ओपनर खाता नै नखोलि आउट भए । एक रनको स्कोरमा इङ्ल्याण्डका दुई विकेट झरिसकेका थिए । त्यसपछि युवा खेलाडए हसीब हमीद तथा कप्तान जो रुटले इनिङलाई सम्हाल्ने प्रयास गरे । उनीहरुले तेस्रो विकेटका लागि ४३ रनको साझेदारी गरे ।

मोईन अली र जोट बटलरले पनि छैठौं विकेटका लागि २३ रनको साझेदारी गरे । तर, भारतका मोहम्मद सिराजले मोईनलाई आउट गरे भने अघिल्लो बलमा साम करण पनि आउट भए । त्यसपछिका तीन विकेट लिन भारतलाई खासै गाह्रो परेन ।भारतले इङ्ल्याण्डको १ सय २० रनको स्कोरमै बाँकी तीन विकेट लियो । भारतका मो।सिराजले ४, जसप्रित बुमराहले ३, ईशान्तले २ तथा शमीले १ विकेट लिए । त्यसअघि भारतले पाँचौं दिनको खेल ६ विकेटमा १ सय ८१ रनबाट अघि बढाएको थियो ।

भारतमा मोहम्मद शमी तथा जसप्रीत बुमराहले नवौं विकेटका लागि लडर््समा ८९ रनको कीर्तिमानी साझेदारी गरेपछि भारतले ८ विकेटको क्षतीमा २९८ रन बनाएर आफ्नो दोस्रो इनिङ घोषणा गर्‍यो । पहिलो इनिङमा पाएको अग्रताको आधारमा इङ्ल्याण्डलाई यो खेल जित्नका लागि २ सय ७२ रनको आवश्यकता थियो । भारतले पहिलो इनिङमा ३६४ रन बनाएको थियो भने इङ्ल्याण्डले ३९१ रन बनाएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*