माओवादी मकवानपुरका नेता प्रजासहित दर्जन कार्यकर्ता एमालेमा प्रवेश

जनपत्र
३२ श्रावण २०७८, सोमबार ०६:५२

हेटौंडा । नेकपा माओवादी केन्द्र मकवानपुरको राक्सिराङका नेता सन्च बहादुर प्रजासहित एक दर्जन बढी कार्यकर्ताहरु विभिन्न पार्टी परित्याग गरि नेकपा एमाले मकवानपुरमा प्रवेश गरेका छन ।

आज आईतबार हेटौंडा पुष्पलाल पार्क स्थित एमाले पार्टी कार्यलयमा भएको एक कार्यक्रमका बिच नेता प्रजा सहित,अभिशेक चेपाङ,बनी राना चेपाङ,दिपक चेपाङ सहित दर्जन कार्यकर्ताहरु नेकपा माओवादी र नेपाली कांग्रेस परित्याग गरि एमाले प्रवेश गरेका हुन् ।

राक्सिराङ वडा नंबर ६ र ८ का दर्जन युवाहरु एमाले प्रवेश गरेका हुन् । उनिहरुलाई नेकपा एमाले केन्द्रीय सदस्य एवं मकवानपुरका इन्चार्ज रामेश्वर राना,संविधानसभा सदस्य एवं एमाले बागमती प्रदेश संगठन विभाग प्रमुख अनन्त पौडेल,एमाले मकवानपुरका अध्यक्ष एकलाल श्रेष्ठ लगाएतले स्वागत गरेका हुन् ।

एमाले प्रवेश गर्दै नेता प्रजाले पार्टीले आफुहरुलाई दिने जिम्मेवारी पुरा गर्ने बताए । उनले भनेः हाम्रो समुदायलाई नेकपा माओवादीले आश्वासन मात्र देखायो,विकासमा सधै पछि पार्यो । हाम्रो लागि केहि काम गरेन । माओवादी भनेर वर्षो लागे तर समाजमा केहि पनि उपलब्धीहरु देखिएन । नेताहरुले नेतृत्वमा पुगेर पनि आश्वसनमा सिमित गरेपछि पार्टीमा निष्कृय भएर बसेको थिए ।

‘आफु एमालेमा नहुँदा पनि एमाले सरकारले मेरो समाजको लागि काम गरिरहेको महशुस गर्दै आएको थिए । एमाले गाउँकमिटिका साथिहरुले अब संगै मिलेर समाजलाई अघि बढाउ,हामी संग संगै अघि बढौ भनेपछि एमाले प्रवेश गरेको हुँ प्रर्जाले भने,हाम्रो राक्सिराङ निकै विकट छ पार्टी नेतृत्वले हाम्रो समाजको विकासको लागि हात मिलाएर अघि बढ्छ भन्ने विश्वास छ ।

पार्टी प्रवेश कार्यक्रममा बोल्दै एमाले मकवानपुरका अध्यक्ष एकलाल श्रेष्ठले आफ्नो गाँउ टोल देखि देशको समृद्धिको निम्ति एमालेकै नेतृत्व आवश्यक रहेको बताए । उनले एमाले प्रवेशमा युवा लहरले आफुहरुको उत्साह बढेको बताउँदै गाउँ गाउँको विकासको निम्ति एमाले सदैव जनताको साथमा रहेको बताए । उनले नवप्रवेशीहरुलाई पार्टीले उचित जिम्मेवारी दिने समेत बताए ।

यसैगरि कार्यक्रमलाई एमाले बागमती प्रदेश संगठन विभाग प्रमुख अनन्त पौडेलले एमाले सरकारमा हुँदा र नहुँदा पनि जनताको साथमा रहेको बताए । उनले देशको विकास नचाहनेहरुले एमाले विरुद्ध चौतर्फी घरेबन्दी गरेको,केहि आफ्नैले घात गरेको र सर्वोच्चको परमादेशले सरकारबाट बाहिरिएको बताउँदै फेरी पनि एमाले जनादेशबाट सरकारमा जाने दाबी गरे । उनले स्थानीय चुनाव नजिकिएको बताउँदै जनताले एमाले सरकारले गरेको विकास निर्माणका कामहरु महशुस गरिरहेको बताए । उनले आउँदो स्थानीय तहको निर्वाचनमा पनि एमालेकै नेतृत्व आउने बताए ।

यसैगरि कार्यक्रममा बोल्दै नेकपा एमाले केन्द्रीय सदस्य एवं मकवानपुरका इन्चार्ज रामेश्वर रानाले एमाले सधै ‘समृद्ध नेपाल सुखी नेपाली’  को पक्षमा अघि बढिरहेको बताए । उनले गाउँगाउँमा एमालेकै जनलहर रहेको बताउँदै सरकारबाट बाहिरिदैमा ‘समृद्ध नेपाल सुखी नेपाली’  को यात्रा नरोकिने बताए । एमालेले श्रमजीजि जनताको हक हितको लागि सधै काम गरिरहेको बताउँदै इन्चार्ज रानाले एमालेले देशको आर्थिक,सामाजिक रुपान्तरण,देशको समृद्धिको निम्ति काम गरिरहेको बताए । उनले स्थानीय निर्वाचन नजिकिँदै बताउँदै जिल्लाको १० वटै स्थानीय तह कमिटिहरुलाई निर्वाचन केन्द्रित भएर पार्टीका कार्यक्रमहरु अघि बढाउन आग्रह गरेका छन् ।  कार्यक्रममा एमाले मकवानपुरका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*