मकवानपुरमा भदौ १० गते सम्म निषेधाज्ञा थपीयो, पसल खुल्ने समय लम्बीयो

जनपत्र
३१ श्रावण २०७८, आईतवार १८:२२

हेटौंडा । मकवानपुर जिल्लामा निषेधाज्ञा थपीएको छ । जिल्लामा निषेधाज्ञा आगामी भदौ १० गते सम्मका लागि थपीएको हो । आज जिल्ला प्रशासन कार्यालय मकवानपुरमा बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले निषेधाज्ञाको समय थप गरेर पसल खोल्ने समय पनि लम्बाएको छ ।

पहिले खाद्यान्न बाहेका अरु पसलहरु दिउसो १२ बजे देखि ४ बजे सम्म खुल्ने समय तोकिए पनि आजको बैठकले भने अब बिहान १० बजे देखि साँझ ५ बजे सम्म खोल्नका लागि समय तोकिएको हो ।

बैठकले पसल व्यवसायको सन्दर्भमा अत्यावश्यक उपभोग्य वस्तु खाद्यान्न, पानी, दूध, माछा, मासु, अण्डा, फलफूल तथा तरकारी विक्रीवितरण गर्ने व्यवसायहरु बिहान ५ बजेदेखि विहान १० बजेसम्म खोल्न अनुमति दिएको छ ।

यसैगरी, बैठकले इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स पसलहरू, हार्डवेयर पसल, भाँडा पसल, कपडा पसल, टेलर, जुत्ता चप्पल पसल, सुनचाँदी पसल, कस्मेटिक पसल, फर्निचररफर्निसिङ, सवारी साधन मर्मत गर्ने वर्कसप तथा मोटर पार्टस् बिक्री वितरण गर्ने व्यवसायहरु बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालन गर्न दिने निर्णय गरेको छ ।

त्यस्तै, सार्वजनिक सवारीसाधनको हकमा कुल सिट क्षमताभन्दा बढी यात्रु नराख्ने गरी जोर–बिजोर प्रणालीमा बिहान ६ बजेदेखि बेलुका ७ बजेसम्म संचालन गर्न पाइने अनुमति दिएको छ ।

यसैगरी, बैंठकले बैंकहरु भोलि राति १२ बजेदेखि लागू हुने गरी सधै बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म संचालन गर्न दिने निर्णय गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*