मकवानपुरमा गोठालो गएका दुई युवक सेनाबाट निर्घात कुटिए

आक्रोशित स्थानीयले सेनाको पोष्ट तोडफोड गर्न खोजेपछि प्रहरीद्वारा अश्रुग्यास प्रहार
जनपत्र
३० श्रावण २०७८, शनिबार ०७:१६

हेटौंडा । मकवानपुरको पश्चिमी क्षेत्रस्थित मनहरी गाउँपालिकाको सुनाचुरीमा नेपाली सेनाले दुई युवकलाई निर्घात कुटपिट गरेको छ ।

घरबाट गोठालो जान भनेर निस्किएका मनहरी–६ सुनाचुरीका २० वर्षीय दीपेन्द्र रुम्बा र २६ वर्षीय बुद्धिबहादुर मोक्तान सेनाका जवानबाट कुटिएका हुन् । साँझ ५ बजे राप्ति खोला किनारमा गाईवस्तु चराउँदै रुम्बा र मोक्तानसहित अन्य दुई युवक माछा मार्न लागेको थिए ।

गस्तीमा हिँडिरहेका चितवन राष्ट्रिय निकुञ्ज, मध्यवर्ती क्षेत्रको सुरक्षामा खटिएका पाँच जना सेनाको टोलीले माछा मारिरहेका युवकलाई एक्कासि कुटपिट गर्न थालेपछि दुई युवक भागेको प्रत्यक्षदर्शीले शिलापत्रलाई जानकारी दिएका छन् ।

भागेरका युवकमाथि पनि सेनाले गोली प्रहार गरेको स्थानीय यदुनाथ श्रेष्ठले बताए । ‘दुई युवकलाई समातेर भकाभग पिट्न थालेपछि अन्य दुई जना युवक भागेका हुन् । भाग्दा पनि गोली हानेका थिए सेनाहरूले । तर, गोली नलागेकाले उनीहरू ज्यान बचाउन सफल भए,’ श्रेष्ठले फोनमा भने ।

श्रेष्ठका अनुसार रुम्बा र मोक्तान मरणासन्न हुने गरी जोगिताल ब्यारेकका सेनाबाट कुटिएका हुन् । स्थानीय ब्यारेकबाहिर आन्दोलन गरिरहेका छन् । ‘सेनाले हामीमाथि अत्याचार गरेको छ । हामी ज्यानको बाजी लगाएर भए पनि यतिरातिसम्म ब्यारेकमा आन्दोलन गरिरहेका छौँ,’ श्रेष्ठले भने । मनहरी गाउँपालिकामा सेनाको कुटाइबाट दुई युवक घाइते भएपछि स्थानीय आक्रोशित भएका छन् । मनहरी–६ सुनाचुरीका करिब ३ सय जना स्थानीयको भिडले चितवन राष्ट्रिय निकुञ्जस्थित मध्यवर्ती क्षेत्रस्थित सेनाको रेञ्जर पोष्ट घेराउ गरेका थिए ।

सेनाले गोठालो गएका सुनाचुरीका २० वर्षीय दिपेन्द्र रुम्बा र २६ वर्षीय बुद्धिबहादुर मोक्तानलाई निर्घात कुटपिट गरेको स्थानीयले बताएका छन् । सेनाले युवकमाथि कुटपिट गरेपछि स्थानीयले सेनाको रेञ्जर पोष्टमा तोडफोड गर्न खोजेको मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।

डिएसपी रिमालले स्थानीयको आक्रोशित भिडले सेनाको पोष्ट तोडफोड गर्न खोजेपछि अश्रुग्यास प्रहार गरेको बताए । प्रहरीले अश्रुग्यास प्रहार गरेपछि स्थानीयको भिड तितरबितर भएको छ ।

स्थानीयले भोलि शनिवार फेरि आउने चेतावनी दिएको जनाइएको छ । ‘म १० बज्दा पनि घटनास्थलमै छु । पोष्ट तोडफोड हुन थालेपछि भिड नियन्त्रणमा लिएका छौं । स्थानीयहरु धेरै आक्रोशित भएका छन्,’ रिमालले भने ।

शुक्रबार साँझ ५ बजे राप्ति खोला किनारमा गाईवस्तु चराउँदै माछा मार्न लागेका युवाहरु सेनाले कुटपिट गरेको स्थानीय यदुनाथ श्रेष्ठले बताए । स्थानीय साँझदेखि सुनाचुरी क्षेत्रमा आन्दोलन गरिरहेका छन् । युवक कुट्ने सेनाको नाम बताइदिनु भनेर स्थानीयले चेतावनी दिएपछि सेना पनि आक्रोशित बनेको जनाइएको छ । सेना आक्रोशित बनेपछि स्थानीयले सैनिक पोष्ट तोडफोन गर्न खोजेका थिए । शिलापत्रबाट साभार ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*