हेटौंडा अस्पतालमा बिरामीको चाप, पालो कुर्दैमा हैरान

जनपत्र
२८ श्रावण २०७८, बिहीबार ११:०१

हेटौंडा । हेटौंडा अस्पतालमा हिजो आज बिरामीको निकै चाप बढेको छ । कोरोना संक्रमण दर निकै बढ्दै गएपनि अस्पतालमा बिभीन्न रोगका बिरामी जचाउन आउने क्रम बढेर गएको छ ।

बिरामी जाँच गराउनका लागि टिकट काट्न, डाक्टरलाई जाँच गराउन, ल्याबमा परिक्षण गराउनका लागि बिरामीहरु लाइनमा कुर्नुपर्ने बाध्यता भएको छ । केही बिरामी अस्पतालमा जाँच गराउनका लागि पिलो नपाएकै कारण दुइ, तीन दिन सम्म धाउनुपर्ने बाध्यता समेत भएको वताउँछन् ।

हेटौंडा अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम प्रभाबकारी समेत भएको छ । बिमा गरिएकै कारण पनि अरु निजी अस्पतालमा जानेगरेका विरामी पनि हेटौंडा अस्पतालमा आउने गरेका छन् । अस्पतालमा दिनहुँजसो बिरामीको चाप बढ्दै गएको मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्टार तथा हेटौंडा अस्पताल विकास समितिका अध्यक्ष राजेश प्रसाई वताउनुहुन्छ ।

गत आव २०७७–०७८ मा स्वास्थ्य बिमा गर्ने ३३ हजार ९ सय ६६ जना थपिएका छन् । सेवा सुरु भएको पहिलो वर्ष २०७४ मै मकवानपुरमा ५५ हजार ३ सय ८१ जनाले बिमा गरेका थिए । यो संख्यामा हालसम्म १ लाख ३८ हजार ५ सय ५५ जना पुगेको स्वास्थ्य बिमा बोर्ड मकवानपुरका दर्ता अधिकारी नरबहादुर खड्काले बताउनुभयो ।

जसमध्ये ७१ हजार १ सय ८४ जना महिला र ६७ हजार ३ सय ६७ जना पुरुष छन् । ३२ हजार ५७ जनाले बिमा नवीकरण गरेका छन् । ‘कोरोना महामारीको कठिन परिस्थितिमा पनि ८७ प्रतिशतले बिमा नवीकरण गरेका छन् । यो अघिल्लो वर्षको भन्दा बढी हो,’ उहाँले भन्नुभयो । उहाँका अनुसार बिमा गर्नेमा ३९ हजार २ सय ५० परिवारले पूर्ण शुल्कमा बिमा गरेका छन् । त्यस्तै, ६ हजार १ सय ३२ जना ज्येष्ठ नागरिक, ८ सय ७२ पूर्ण अपांगता भएका, एचआईभी संक्रमित २ सय ३७ जनाले बिमा सेवा पाएका छन् ।

बिमा गरेकाले हेटौंडा अस्पताल, हेटौंडा सामुदायिक आँखा अस्पताल तथा छतिवन, मनहरी, भीमफेदी र पालुङस्थित प्राथमिक स्वास्थ्य केन्द्रबाट सेवा पाउँछन् । हेटौंडा अस्पतालमा अहिले स्वास्थ्य बिमा गराएका बिरामीको चाप छ । बिमामार्फत १ सय ३० प्रकारका औषधि निःशुल्क दिइन्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*