स्वास्थ्य मापदण्ड पालनाबिनै ३ सिफ्टमा परीक्षा

जनपत्र
२५ श्रावण २०७८, सोमबार ०७:२०

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई अटेर गर्दै जबरजस्ती परीक्षा सञ्चालन गरेको त्रिभुवन विश्वविद्यालयले स्वास्थ्य मापदण्डलाई पूर्णरूपमा बेवास्ता गरेको छ । त्रिविले परीक्षा केन्द्र कायम गरेको अधिकांश क्याम्पसमा सामाजिक दूरी कायम गरिएको छैन भने परीक्षा केन्द्रमा प्रवेश गर्ने विद्यार्थीको स्वास्थ्य परीक्षण पनि गरिएको छैन । परीक्षार्थीले मास्क लगाएको छ कि छैन भन्नेमा सामान्य हेक्कासमेत राखिएको छैन ।

त्रिविको परीक्षा लिएरै छाड्ने ढिपीलाई विद्यार्थी नेताहरूले विरोध जनाएका छन् । पाटन संयुक्त क्याम्पस, नेपाल विद्यार्थी संघका विद्यार्थी नेता तारा शर्माले यस्तो अवस्थामा परीक्षा सञ्चालन गर्नु त्रिविको गलत नियत भएको आरोप लगाउनुभयो । उहाँ भन्नुहुन्छ– ‘कि त स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गरी परीक्षा सञ्चालन गर्नुपर्‍यो, कि अनलाइन वा अन्य वैकल्पिक विधिबाट परीक्षा सञ्चालन गर्नुपर्‍यो ।’

राजधानीकै सबैभन्दा धेरै परीक्षार्थी भएको पाटन क्याम्पसमा आइतबार ठूलै भीड थियो । काभ्रेको बनेपादेखि राजधानीका अधिकांश क्याम्पसका विद्यार्थीले भरिभराउ सो क्याम्पसमा हिजो आइतबार तीन सिफ्टमा परीक्षा सञ्चालन भएको थियो ।

क्याम्पस प्रमुख डा। लक्ष्मण सिंह कुँवरले बिहान ७ देखि ११, ११ देखि दिउँसो १ र दिउँसो १ देखि ४ बजेसम्म गरी ७ सय ५० जना विद्यार्थीले परीक्षा दिएको जानकारी दिनुभयो । उहाँले बजेट अभावको कारण हेल्थडेक्स राख्न नसकिएको स्वीकार्दै विद्यार्थीको संख्या अत्यधिक भए पनि सफलताका साथ व्यवस्थापन गरिएको दाबी पनि गर्नुभयोे ।

नेविसंघका अनिल खनाल, तारा शर्मा, अनेरास्ववियु क्रान्तिकारीका सञ्जीव फुँयाल र अनेरास्ववियुका झपीन्द्र खत्रीले यस्तो अवस्थामा परीक्षा सञ्चालन गर्दा संक्रमण बढ्न सक्ने खतरा रहेको भन्दै त्रिविले चरम लापरबाही र गल्ती गरेको आरोप गर्नुभयो ।

त्रिविका उपकुलपति प्राडा धर्मकान्त बाँस्कोटाले यही २८ गतेसम्मको परीक्षा जारी राख्ने बताउँदै भन्नुभयो–‘जुलुस चलिरहेका छन्, सार्वजनिक यातायात बन्द भएको छैन, रेस्टुरेन्ट खुलिरहेका छन्, तैपनि विगत ढेड वर्षदेखि स्थगित परीक्षा सञ्चालन गर्न अवरोध गर्न थालिएको छ ।’

उहाँले सकभर यो महिनासम्म परीक्षा गर्ने र अन्य परीक्षाको हकमा सोचविचार गर्ने बताउनुभयो । राजधानीको रत्नराज्य क्याम्पस र त्रिचन्द्र कलेजलगायतका क्याम्पसमा सञ्चालन भएका परीक्षाको ताल पनि उस्तै छ । विद्यार्थीको सेमेस्टर खेर जाने भन्दै त्रिविले परीक्षा सञ्चालन गरिरहेको भए तापनि सरकारले कक्षा १२ को परीक्षा स्थगित गरेपछि अधिकांशले त्रिविलगायत सम्पूर्ण परीक्षा स्थगित हुनुपर्ने बताउँदै आएका छन् ।

त्रिविका परीक्षार्थी स्वेता सिवाकोटी कोभिडको समयमा अनलाइनबाट परीक्षा लिनुपर्ने धारणा राख्नुहुन्छ । कोभिड संक्रमित विद्यार्थीले परीक्षामा सहभागी हुन सक्ने अवस्थामा स्वास्थ्य मापदण्ड पालना नगरी एउटै क्याम्पसमा सयौं विद्यार्थी राखेर परीक्षा लिनु त्रिविको गलत मानसिकता भएको उहाँको भनाइ थियो ।

जबरजस्ती परीक्षा लिएर कोभिड संक्रमण बढाइरहेको टिप्पणी गर्दै उहाँले भन्नुभयो– ‘कति विद्यार्थी त परीक्षा दिँदादिँदै बिरमी परे, तर उसलाई कसैले पनि अस्पताल पु¥याउने आँट गरेन । यस्तो अवस्थामा त्रिविले परीक्षा लिँदा ठूलो समस्या आएको छ ।’ कक्षा १२ को परीक्षा स्थगित गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, सीसीएमसी र राष्ट्रिय परीक्षा बोर्डलगायतले चासो राखे पनि त्रिविका परीक्षा कसरी सञ्चालन भइरहेका छन् भन्नेतर्फ खासै चासो र चिन्ता देखाएको छैन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड संक्रमण बढ्दै गएकाले सबै तहको परीक्षा स्थगित गर्न सीसीएमसीलाई सिफारिस गरेको अवस्थामा त्रिविले पूर्व निर्धारित परीक्षा साउन २८ गतेसम्म सम्पन्न गर्ने जनाएको छ । त्रिविले साउन ३० गते हुने स्नातकोत्तर तहको प्रवेश परीक्षालाई भने भदौ ७ गतेका लागि सारेको र सरकारले सो परीक्षा सञ्चालन गर्न रोक लगाएमा अनलाइनबाटै परीक्षा लिइने बताएको छ । न्युजअफनेपालबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*