मकवानपुरमा बिभीन्न घटनामा तीन जनाको मृत्यु

हेटौंडा । मकवानपुर जिल्लामा बिभीन्न घटनामा तीन जनाको मृत्यु भएको छ । टाटासुमो दुर्घटना, झरना हर्ने क्रममा डुबेर र पानीघट्टमा परेर गरी तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । हेटौंडा–काठमाण्डौं छोटो दुरीको मार्ग अन्तरगत ईन्द्रसरोबर–२ सिमखोलामा यात्रुबाहक टाटा सुमो दुर्घटनाग्रस्त हुँदा एक जनाको मृत्यु भएको हो ।
काठमाडौंबाट यात्रु बोकेर बिरगञ्ज तर्फ आउदै गरेको ना १ ज २११४ नम्बरको सुनौलो यातायातको सुमो सिमखोलामा दुर्घटनाग्रस्त हुँदा एक जनाको मृत्यु भएको र ४ जना घाइते भएको मकवानपुरका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक देवेन्द्र दासले बताउनुभयो ।
घाइते हुनेमा भारत ज्ञानबाद बस्ने १४ बर्षीय रोनक कुमार,सोही ठाउँ बस्ने १७ बर्षीय शंकर कुमार, विशाल कुमार र शिव शक्ति कुमार रहेको प्रहरी निरीक्षक दासले बताउनुभयो ।
इन्द्रसरोवरको मोहिनी झरना हेर्न आएका पाचथर घर भई हाल काठमाण्डौ नागर्जुन–३ बस्ने अन्दाजी २३ बर्षीय सन्देश राई चिप्लेर झरना तल जमेको पानिमा डुबेर मृत्यु भएको छ । उहाँको झरनामा चिप्लेर एक जनाको मृत्यु भएको हो ।
यसैगरी मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर–१२ धारापानीमा पानी घट्टमा परेर शनिबार साँझ एक बालिकाको ज्यान गएको छ। पानी घट्टमा परेर स्थानिय ७ बर्षीया रोशनी न्यासुरको मृत्यु भएको दासले जानकारी दिनुभयो ।