स्वास्थ्य राज्यमन्त्रीलाई खगराज अधिकारीको प्रश्न- ‘सिनियर’को पदमा ‘जुनियर’ ल्याएर के गर्दै हुनुहुन्छ?

नेकपा एमालेका सांसद तथा पूर्व स्वास्थ्यमन्त्री खगराज अधिकारीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका राज्यमन्त्री उमेश श्रेष्ठले मन्त्रालयमा प्रवेश गरेदेखि नै बेथिति निम्त्याएको आरोप लगाएका छन्। संसदको शिक्षा तथा स्वास्थ्य समितिमा भएको छलफलका क्रममा सांसद अधिकारीले श्रेष्ठलाई आफ्न निर्णय सच्याउन आग्रह समेत गरेका छन्।
अधिकारीले स्वास्थ्य सेवा विभागको महानिर्देशक र कोभिड यूनिफाइड अस्पतालका प्रमुखमा नियुक्त गरिएका विषयमा प्रश्न पनि गरेका छन्। उनले वरिष्ठको पद रहेको स्थानमा कनिष्ठ पदमा रहेकालाई जिम्मेवारी दिएर के गरेको भन्दै प्रश्न गरेका हुन्।
‘कोभिड अस्पतालमा ११औं तहको कार्यकारी अधिकारी भन्ने व्यवस्था अध्यादेशमा छ। तर ११ औं तहको हटाएर १०औं तहको ल्याउनु भएको छ। तपाई के गर्दै हुनुहुन्छरु’ उनले राज्यमन्त्रीलाई प्रश्न गर्दै भने, ‘कोभिड महामारीको बेलामा स्वास्थ्य सेवा विभागमा १२ औं तहको कर्मचारी खटिनुपर्ने हो। त्यहाँको दरबन्दी पनि १२ औं तहको हो। तर, सिनियरलाई पन्छाएर जुनियरलाई किन लगियो ?’
उनले यस्ता बेथिति सच्याउन समितिले निर्देशन दिनुपर्ने अवस्था आएको बताए। ‘मन्त्रालयमा गएको शुरुमै यस्तो बेथितिरु सच्याउनुहोस् ती निर्णय,’ उनले भने। सांसद अधिकारीले कोभिड खोपका मूल्य पनि सार्वजनिक गर्नुपर्ने विषय पनि समितिमा उठाएका छन्। स्वास्थ्यखबरबाट