वर्तमान सरकार ‘देशमारा’ र ‘गरिबमारा’ नहाेस् : रामनारायण बिडारी

जनपत्र
२२ श्रावण २०७८, शुक्रबार १७:३५

राष्ट्रिय सभा सदस्य रामनारायण बिडारीले वर्तमान सरकार देशमारा र गरिबमारा हुने नहुने बताउनुभएकाे छ । शुक्रवारको राष्ट्रिय सभा बैठकमा बिडारीले भन्नुभयाे, ‘सरकारले छिटाे भन्दा छिटाे वास्तविक गरिबहरूलाई जग्गा वितरण गराेस् । याे सरकार देशमारा र गरिबमारा नहाेस् ।’

यस्तै उहाँले संवैधानिक आयोगमा अघिल्लो सरकारले गरेको नियुक्ति बदर गर्न राष्ट्रिय सभाले निर्देशन दिनुपर्ने बताउनुभयाे । बिडारीले अघिल्लो सरकारले गैरसंवैधानिक रूपमा अध्यादेशमार्फत संवैधानिक निकायमा पदाधिकारी नियुक्त गरेर संवैधानिक निकायलाई कमजोर पारेको भन्दै ती नियुक्ति बदर गर्न राष्ट्रिय सभाले निर्देशन दिनुपर्ने बताउनुभएको हो ।

उहाँले भन्नुभयो – ‘राष्ट्रिय सभा जस्तो गरिमामय सभाले भनोस्, अध्यादेशद्वारा भएका सम्पूर्ण काम कारबाहीमा राजनीतिक सहमतिद्वारा ती नियुक्ति बदर गरेर ठिक बाटोमा, संविधानका बाटोमा फेरि कार्य गर्नू भनी निर्देशन पनि दिन सकौँ ।’

उहाँले संवैधानिक आयोग अपाङ्ग भएको, अदालतमाथि आलोचना भएको याे बेलामा संविधान विरोधीहरू खुसी भएको र धर्मको नाममा राजतन्त्रको कुरा माग्न थालेको टिप्पणी पनि गर्नुभयो ।

राष्ट्रिय सभा सदस्य बिडारीले भन्नुभयो, ‘संवैधानिक आयोग अपाङ्ग भयो । अन्तर्राष्ट्रिय मान्यतामा प्रश्न उठ्यो । मानव अधिकार आयोग थरथर काम्नुपर्ने भयो । संसदको गरिमा पनि घट्यो । अदालतको आलोचना हुन थाल्यो । प्रधानन्यायाधीशमाथि प्रश्न उठ्न थाल्यो । संवैधानिक अङ्गहरू निष्प्रभावी भयो । संविधान विरोधीहरू खुसी भए । नेपाल विरोधीहरू नाच्न थाले । यही मौका छोपेर धर्मको नाममा मूर्ति चोरहरूले राजतन्त्रका कुरा माग्न थाले ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*