काठमाण्डौ उपत्यकाबाट दुईवटै औद्योगिक क्षेत्र हटाईनुपर्छ–मुख्यमन्त्री पौडेल
हेटौंडा / प्रदेश नम्बर –३ का मुख्यमन्त्री डोरमणि पौडेलले काठमाण्डौ उपत्यकाबाट दुईवटै औद्योगिक क्षेत्र हटाईनुपर्ने बताउनुभएको छ । नेपाल उद्योग परिसंघ प्रदेश ३ ले हिजो सांझ हेटौंडामा गरेको स्वागत तथा परिचयात्मक कार्यक्रममा बोल्दै उहाँले उपत्यकाको बालाजु र ललितपुरमा रहेको औद्योगिक क्षेत्र हटाईनुपर्ने बताउनुभयो । प्रदेश सरकार मातहत औद्योगिक क्षेत्र आएमा आफुहरुले उपत्यकाबाट औद्योगिक क्षेत्र हटाईने बताउनुभयो ।
निजी क्षेत्रको लगानी बिना मुलुक अगाढी बढ्न नसक्ने मुख्यमन्त्री पौडेलले बताउनुभयो । मुलुकका चारै औद्योगिक क्षेत्रमा विचौलियाको चलखेलका कारण नयाँ उद्योग भित्रन नसकेको उहाँले बताउनुभयो । औद्योगिक क्षेत्र कब्जा गर्ने प्रचलन रहेको भन्दै उहाँले उद्योगीको सहयोग भएमा मात्र कब्जा गर्ने परम्परा हटाउन सकिने बताउनुभयो । नेपाली उत्पादनलाई प्रथमिकता दिने उद्योगलाई सहयोग गर्न प्रदेश सरकार तयार रहेको पनि जानकारी दिनुभयो ।
औद्योगिक क्षेत्र केन्द्र सरकार मातहत रहेसम्म विकृति अन्त्य नहुने भन्दै उहाँले प्रदेश सरकार मातहत ल्याउने प्रयास भइरहेको बताउनुभयो । कार्यक्रममा प्रदेश नम्बर ३ का आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जमकट्टेल, आर्थिक मामिला तथा योजना मन्त्री कैलाश प्रसाद ढुंगेल, भूमि, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामा, सामाजिक बिकाश मन्त्री युवराज दुलाल, प्रमुख सचिब आनन्दराज ढकाल लगायतकाको कार्यक्रममा उपस्थिती रहेको थियो ।
कार्यक्रममा नेपाल उद्योग परिसंघका केन्द्रीय अध्यक्ष सतिसकुमार मोरले नयाँ औद्योगिक क्षेत्रलाई प्रदेश मातहत राखेर काम गरेमा औद्योगिक विकास सम्भव हुने बताउनुभयो । नेपाल उद्योग परिसंघ प्रदेश ३ का अध्यक्ष ऋसीराम घिमीरेको अध्यक्षतामा कार्यक्रम भएको कार्यक्रममा उद्योग संघ मकवानपुरका अध्यक्ष ऋसीराम घिमीरे लगायतकाले मन्तब्य ब्यक्त गर्नुभएको थियो ।