अवैध पुष्प तथा पुष्पजन्य आयात रोक्न माग

भारतबाट पुष्प तथा पुष्पजन्य वस्तु अवैध आयात भइरहेको भन्दै त्यसलाई रोक्न माग गरिएको छ । अखिल नेपाल किसान महासंघ, ङ्खलोरिकल्चर एसोसियसन नेपाल तथा नर्सरी तथा पुष्प उत्पादक किसान संघले संयुक्त रूपमा पुष्प एवं पुष्पजन्य सामग्री अवैध कारोबार रोक्न माग गर्दै बुधबार राजधानीमा प्रदर्शनसमेत गरेका छन् ।
उनीहरूले ‘प्रयोग गरौं बारीको बहिष्कार गरौं पारीको’, ‘पुष्प व्यवसायलाई अति आवश्यकीय कृषिजन्य बस्तुको सूचीमा समावेश गर’, ‘फुलको अवैध तथा अनियन्त्रित आयात बन्द गर’लगायत नाराबाजी गर्दै प्रदर्शन गरेका गरेका हुन् ।
भारतलगायत अन्य देशबाट गैरकानुनी रूपमा फुल ल्याउने काम जारी भएको र त्यसको विरोध गर्दा नेपालका किसानलाई तर्साउने, धम्क्याउने गरिएको आरोपसमेत उनीहरूले लगाएका छन् । लकडाउनका कारण पुष्प व्यवसायी किसान धराशयी भइरहेको बेला नेपालभित्रैको उत्पादन खपत गर्नुको साटो कर छलेर भारतबाट फुल ल्याउने ‘दलाल’ सक्रिय भइरहेको भन्दै कडा कारबाही गर्न उनीहरूले माग गरेका छन् । माग सुनुवाई नभए कडा आन्दोलन गर्ने चेतावनीसमेत उनीहरूले दिएका छन् ।