तुइनबाट युवा नदीमा खसेको विषयमा तथ्यहीन प्रचार नगर्नु : जिप्रका दार्चुला

जनपत्र
१६ श्रावण २०७८, शनिबार १८:३२

काठमाण्डाै – जिल्ला प्रशासन कार्यालय दार्चुलाले महाकाली नदीमा तुइनबाट खसेर एक युवा वेपत्ता भएको खबरलाई लिएर तथ्यहीन प्रचार नगर्न अनुरोध गरेको छ ।

भारतीय सीमा सुरक्षा बलले डोरी काटेपछि व्याँस गाउँपालिकामा तुइन तर्दै गरेका एक नेपाली नागरिक महाकाली नदीमा बेपत्ता भएको दाबी सहित प्रकाशन–प्रशारण भइरहेको खबरहरु प्रति ध्यानाकर्षण भएको भन्दै प्रशासनले दुई देशबीचको सम्बन्धमा खलल पर्ने गरी तथ्यहीन प्रचार नगर्न भनेको हो । सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्टले विज्ञप्ति निकालेर प्रशासन कार्यालयले घटनाका सम्बन्धमा जानकारी दिन भारतीय समकक्षीलाई पत्रचार गरेको र नेपालको तर्फबाट पनि अनुसन्धानका लागि टोली खटिसकेकोले अनुसन्धानपछि मात्र घटनाको यथार्थ थाहा हुने बताउनुभएको छ ।

टोलीले स्थलगत अनुसन्धान गरेपछि मात्रै औपचारिक कुरा थाहा हुने र घटनाबारेमा जानकारी गराउने विज्ञप्तिमा उल्लेख छ । घटनाबारे अनुसन्धानका लागि सशस्त्र प्रहरी बलका डीएसपी वीरसिंह धामी नेतृत्वको टोली घटनास्थलमा खटिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले व्याँस गाउँपालिकामा हिजो भएको घटनाबारे अनुसन्धान गर्न गृहमन्त्री बालकृष्ण खाणलाई निर्देशन दिएको भोलिपल्ट आज सुरक्षाकर्मीको टोली घटनास्थलतर्फ गएको हो ।

हिजो जिल्ला सदरमुकाम खलङ्गा पुग्न भारतीय बाटो प्रयोग गर्न खोजेको बेला तुइनबाट खसेका जयसिंह धामी अझै बेपत्ता छन् । धामीले तुइनबाट नदी पार गर्दै गर्दा भारतीय सीमा सुरक्षा बलले डोरी काटेपछि नदीमा वेपत्ता भएका धामीसँगै रहेका साथीहरुले बताएका छन् । सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयबासीन्दाले धामीको खोजी गरिरहेका छन् । स्थानीय प्रशासन र सुरक्षा निकायले पुष्टि गरिसकेको नभए पनि घटनालाई लिएर आक्रोश व्यक्त भइरहेको छ ।

सत्तारुढ नेपाली काँग्रेसले हिजै विज्ञप्ति निकालेर घटनाका सन्दर्भमा सत्यतथ्य बाहिर ल्याउन र आफ्ना नागरिकलाई न्याय दिलाउन सरकारसँग माग गरेको छ । पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई, एमाले नेता तथा पूर्वउपप्रधानमन्त्री भीम रावल लगायतले पनि दोषीलाई कारबाही गर्न माग गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*