हेटौंडा–१७ को विकट बुङ्गे गाउँमा सडक र खानेपानीका लागि तत्काल काम गरिने

हेटौंडा/ हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१७ को अत्यन्तै विकट साजबोटे बुङ्गे भन्ने स्थानमा पहिलो पटक मेयर हरि बहादुर महत पुग्नु भएको छ । हेटौंडाको सबै वडा मध्यमा अत्यन्त विकट मानिने यस क्षेत्रमा नागरिकहरुको समस्या बुझ्नका लागि मेयर पुग्नु भएको हो ।
यस क्षेत्रमा सडक र खानेपानीको निकै समस्या भएकाले यसको लागि चालु आर्थिक वर्षमा काम गरिने भएको छ । सडकको समस्या भएकाले यस क्षेत्रमा तत्काल सडक निर्माणको कामलाई थाल्ने वताउँदै मेयर महतले भन्नुभयो–‘हामी त्यो गाउँमा पुग्दा पनि धेरै ठाउँमा गाडी ठेल्नुपर्ने बाध्यता भौग्यौ । बिहान गएको वेलुका मात्र फर्कीयौं । यस्तो विकट क्षेत्रमा काम सुरुवात गर्दै छौं ।’
करिव एक सय परिवार यस क्षेत्रमा वसोवास गर्दै आएका छन् । सडक निर्माणका लागि तत्काल जेसीवी र त्यसका लागि आवस्यक सामाग्री पठाउने उहाँले वताउनुभयो । यहाँको विद्यालयमा अध्ययनरत विद्यार्थी हरेकलाई विद्यालय पोसाक र झोला वितरण गरिने भएको छ । धेरै नागरिकमा स्वास्थ्यमा समस्या भएकाले स्वास्थ्य शिवीर गरिने भएको छ ।
स्थानीय सरकारले लिदै आएको कर यस क्षेत्रका एक सय परिवारलाई छुट गर्ने तयारी रहेको मेयर महतले वताउनुभयो । यस क्षेत्रको अनुगमनमा मेयर महतका राजनीतिक सल्लाहकार नरहरी महत समेत पुग्नु भएको थियो । खोपानी र बस्ती बचाउनका लागि तत्काल काम गरिने भएको छ ।