ओभरटेक गर्न खोज्दा ३ ट्रक ठोक्किए, १० जना घाइते

जनपत्र
२१ बैशाख २०७६, शनिबार १८:१८

हेटौंडा / पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका-९ स्थित जैसिङमा तीनवटा ट्रक आपसमा ठोक्किँदा १० जना घाइते भएका छन् । ३ जनाको अवस्था गम्भीर छ ।

हेटौंडाबाट नारायणगढतर्फ जाँदै गरेको ना ६ ख ३३७४ नम्बरको ट्रक र नारायणगढबाट हेटौंडातर्फ आइरहेको ना ४ ख ११९२ नम्बरको ट्रक आपसमा ठोक्किएका हुन् । दुई ट्रक ठोक्किएपछि नारायणगढतर्फबाटै आइरहेको ना ६ ख ९९०७ नम्बरको तेस्रो ट्रक पनि ठोक्किएर दुर्घटना भएको हो । बिहान साढे ९ बजेको समयमा उक्त दुर्घटना भएको हो ।

दुर्घटनामा घाइतेहरुको उद्दार गरी ६ जनालाई उपचारको लागि चितवनको भरतपुर पठाइएको र ४ जनाको मनहरी प्राथमिक स्वास्थ्य केन्द्रमा प्राथमिक उपचारपछि चितवन पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

घाइतेको नामावली प्राप्त हुन सकेको छैन । घाइते हुनेमा तीनै ट्रकका चालक सहचालक र केही यात्रु पनि छन् । एक ट्रकले अर्कोलाई ओभरटेक गर्ने क्रममा दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको प्रहरीले जनाएको छ ।

दुर्घटनापछि केहीबेर राजमार्ग अवरुद्ध भएको थियो । अहिले राजमार्ग खुलाइसकिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*